हवाई र सडक यातायात बन्द हुँदा मुस्ताङको अन्य जिल्लासँग सम्पर्क टुट्यो

नेपालभ्युज

हवाई र सडक यातायात बन्द हुँदा मुस्ताङको अन्य जिल्लासँग सम्पर्क टुट्यो

काठमाडौं । पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङका सबै नाका बन्द भएका छन् । हवाई र सडक यातायात बन्दहुँदा मुस्ताङ्को अन्य जिल्लासँग सम्पर्क विच्छेद भएको छ ।

बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका–२, बैसरीमा सडकमाथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । बिहीबारदेखि नै पहिरो झर्न थालेपछि  शुक्रबार फाट्टफुट्ट सवारी चलेको भए पनि शनिबार बिहानैदेखि भने पूरै बन्द भएको छ  ।

धेरै ठाउँमा पहिरो झरिरहेको हुँदा यात्रा गर्न निकै कष्टकर र जोखिम भएकाले यो समय अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्लास्थित प्रशासन कार्यालयले आग्रह गरेको छ ।

वर्षा बढेसँगै असार १५ देखि जोमसोम–पोखरा हवाई उडान पनि बन्द भएपछि समस्या भएको छ ।

यातायात बन्द हुँदा जटिल खालका विरामीको उपचारका लागि लैजान समेत समस्या हुन सक्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाइ छ ।

जोमसोम–बेनी सडकको मार्फा खोलामा बाढी आउँदा पटक पटक यातायात अवरुद्ध हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बेनी–जोमसोम सडकखण्डको म्याग्दीतर्फ रघुगङ्गा गाउँपालिका–२, तल्लो बैसरी र माथिल्लो बैसरीमा सडक अवरुद्ध भएको छ ।

त्यसै गरी भुरुङ तातोपानीमा अवरुद्ध सडक अहिले खुलेको भए पनि बैसरीमा अवरोध तत्काल हटाउन नसकिएकाले बेनी–जोमसोम सिधा यातायात हुन सक्ने अवस्था छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved