कमरेड घनश्याम ! कर्मकाण्ड पूरा गरियो कि महाधिवेशन ?

एकीकृत समाजवादीको दशौं महाधिवेशनप्रति थोरै उत्सुकताको कारण भने नेतृत्व हस्तान्तरण र पुस्तान्तरण नै थियो । यी घनश्याम भुसाल यतिका कुरा र गनगन गर्दछन्, विद्वता र बौद्धिकता छाँट्छन्, यिनले हाँक्ने पार्टी कस्तो हुने रहेछ भन्ने मान्छेलाई हेर्न मन थियो ।

कमरेड घनश्याम ! कर्मकाण्ड पूरा गरियो कि महाधिवेशन ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशनले कति ‘म्याग्निच्यूड’ को तरङ्ग सृजना गर्ने सामर्थ्य राख्थ्यो र कति मात्र गरेर सकियो ? यसको ‘एक्यूरेट’ हिसाबकिताब गर्ने कुनै विधि थिएन । तर, धेरैले यसलाई किन नियालेका थिए भने त्यहाँ ‘कमरेड घनश्याम’ पनि थिए ।

यो टिप्पणीको शीर्षक ‘कमरेड माधव वा कमरेड झलनाथ’ पनि हुन सक्थ्यो । तर, त्यसो गर्नुपर्ने कुनै उपादेयता बाँकी थिएन । ४१ वर्षमा पहिलोपटक नेकपा (एमाले) जस्तो विशालकाय पार्टीको प्रमुख भएका माधवकुमार नेपालले ‘एकीकृत समाजवादी’ को समेत कार्यकाल जोड्दा १८ वर्ष पार्टीको नेतृत्व गरिसके । ३३ वर्षमा तत्कालीन नेकपा (माले) को महासचिव भएका झलनाथ खनाल पनि करिब १३ वर्ष पार्टी प्रमुख भए ।

यी दुवै पूर्वप्रधानमन्त्रीको नेतृत्व क्षमता र शैली देशले देखिसक्यो, बुझिसक्यो । आफ्नो समयमा यी ‘कामै नलाग्ने’ थिएनन् । भविष्यका लागि यी ‘खासै काम लाग्ने’ छैनन् भन्ने यथार्थ पनि दुनियाँलाई राम्रोसँग थाहा छ । नेकपा (एकीकृत समाजवादी ) को अहिलेसम्म एक औचित्यको आधार छ, एमालेको ओली गुटसँग विद्रोह ।

धेरैलाई लागेको थियो कि एमालेसँग विद्रोह आवश्यक थियो । किनकि कमरेड केपी शर्मा ओलीसँग दुई-दुईपटक संसद् विघटन गर्ने अधिकार थिएन । लोकतन्त्रमा कसैसँग ‘एक्स्ट्रा कन्स्टिच्यूसनल राइट’ हुँदैन । एमालेको ‘जबजको सिद्धान्त’ र मदन भण्डारीको विचारले पनि त्यो मान्दैन ।

पार्टीका रूपमा एमाले ठूलो होला तर, इतिहासमा त्यसको कलङ्क पनि उत्तिकै ठूलो हुनेछ । कुनै दिन त्यही पार्टीले महाधिवेशन गरेर भन्नेछ— संसद् विघटन गलत थियो । जस्तो कि तत्कालीन मालेले कुनै बेला झापा विद्रोहकालीन व्यक्ति हत्या र २०३६ सालको जनमत सङ्ग्रह बहिष्कार गलत थियो भन्यो । एकीकृत महाकाली सन्धि आज पनि त्यस्तै गलपासो छँदैछ । औपचारिक रूपमा गलत नभने पनि यो सन्धिको प्रतिरक्षा आज कमैले गर्दछन् ।

यो पनि कम्युनिष्ट आन्दोलनमा कुनै नयाँ कुरा हुने छैन । स्टालिनका उत्तराधिकार निकिता ख्रुश्चेभले ‘निस्टालिनीकरण’ गरे जस्तो । यस्ता दृष्टान्त कति छन् कति ?

एकीकृत समाजवादीको महाधिवेशनप्रति यसर्थमा धेरैलाई कुनै रुचि थिएन कि यसले ‘समाजवादी क्रान्ति’ नामक दस्तावेज पारित गर्दैछ । ‘समाजवाद’ शब्द आज यति सस्तो र थिलोथिलो भइसकेको छ कि यसले आकर्षणभन्दा बढी विकर्षण पैदा गर्दछ । अब ‘समाजवाद’ शब्दले मात्रै दलहरू बीचको वैचारिक तथा एजेन्डागत भिन्नता र अभ्यासमा हुने फरक छुट्याउन सम्भव रहेन ।

राप्रपाजस्ता केही सीमित दललाई छोड्ने हो भने देशका सबै दल समाजवादी । यहाँसम्म कि रास्वपासमेत ‘संवैधानिक समाजवादी’ । कम्युनिष्ट, कांग्रेस र पहिचानवादी समाजवादीको त कुरै छोडौँ ।

एमालेसँगको विद्रोह सकारात्मक भए पनि त्यसपछिका दिनमा एकीकृत समाजवादीले राजनीतिमा कुनै मौलिक पहिचान कायम गर्न सकेन । न सही र आक्रामक रणनीति नै निर्माण गर्‍यो । यस अर्थमा माधव-झलनाथको नेतृत्व बिल्कुलै असफल हो । तर, महाधिवेशन प्रतिनिधिले असफलता नै मन पराएर अनुमोदन गरेपछि कसको लाग्छ ? अथवा प्रतिनिधिले नेतृत्वमा अर्को विकल्प भेट्न सकेनन्, विकल्प दिन्छौँ भन्नेहरूले खुट्टा कमाए पनि भन्न सकिन्छ ।

पाँचदलीय गठबन्धनसँग टाँसिएर आएको १० सिटलाई कसैले ठूलो उपलिब्ध मानेको छैन । दुई-दुई पूर्वप्रधानमन्त्रीले त्यति ठूलो र महत्त्वपूर्ण मुद्दामा विद्रोह गर्दा ३% को झिनो थ्रेसहोल्डसमेत किन कटेन ? यो प्रश्न अहम् हुनुपर्ने थियो तर, भएन ।

त्यति भोट ल्याउन सक्ने यो पार्टीको आधार नै थिएन भन्न सकिन्न । तर, चुनावी रणनीति तदनुरूप थिएन । अब फेरि पनि थ्रेसहोल्ड कटेन भने त्यो पनि कुनै आश्चर्य हुँदैन । किनकि समयले कसैलाई पर्खिएर बस्दैन । त्यो एउटा समय थियो, विद्रोहको बसन्त बहार छाएको । अर्काे चुनाव झरी बादलले बगाइदिन सक्दछ ।

एकीकृत समाजवादीको दशौं महाधिवेशनप्रति थोरै उत्सुकताको कारण भने नेतृत्व हस्तान्तरण र पुस्तान्तरण नै थियो ।

यी घनश्याम भुसाल यतिका कुरा र गनगन गर्दछन्, विद्वता र बौद्धिकता छाँट्छन्, यिनले हाँक्ने पार्टी कस्तो हुने रहेछ भन्ने मान्छेलाई हेर्न मन थियो ।

कमरेड घनश्याम ! ओलीको मात्र के कुरा, आखिर नेतृत्वको लोभ त कमरेड माधव र झलनाथको पनि उस्तै रहेछ । ठ्याक्कै कमरेड मोहनविक्रम सिंह र प्रचण्डकै जस्तो ।

कुनै बेला ‘माले धार’ र ‘चौम’ को नेतृत्वसम्बन्धी धारणा र अभ्यासको भिन्नताको कुरा गरिन्थ्यो । मालेधारमा सीपी मैनाली, झलनाथ खनाल, मदन भण्डारी, माधवकुमार नेपाल र केपी ओली गरी ५ पार्टी प्रमुख भए विगत करिब ५ दशकमा, २०३० यता ।

चौम धारमा मोहनविक्रम सिंह, निर्मल लामा, भक्त बहादुर श्रेष्ठ, मोहन वैद्य र प्रचण्ड । यो विषय पनि अब तुलनीय रहेन । न कसैले श्रेष्ठताको दाबी गर्ने ठाउँ नै रह्यो ।

आज पनि मोहनविक्रम सिंह र मोहन वैद्यका स-साना गुट छन् । सीपी मैनाली र माधवकुमार नेपालका पनि उस्तै स-साना गुट छन् । भयो त कुनै भिन्नता ?

कमरेड ओली र कमरेड प्रचण्डबीचको भिन्नता वा समानता, एकता र फुट, सहकार्य र विग्रह, प्रेम र घृणा, त्यसको पनि कुनै बयान जरुरी छ ?

कमरेड प्रचण्ड ३८ वर्षदेखि नेतृत्वमा छन् । कमरेड ओलीको १२ वर्ष पुग्न लाग्यो र अब २० वर्ष नछोड्न वचनबद्ध छन् ।

कमरेड घनश्याम ! कतै यो कम्युनिष्टहरूको ‘साझा जीन’ त हैन । अन्तर्राष्ट्रिय अनुभव हेर्दा त त्यही देखिन्छ । यदि हो, ‘उन्नत लोकतन्त्र’ चाहिएको हो भने जीनमै यस्तो खराबी भएको कम्युनिष्टसँग अझै यति धेरै मोह किन ?

यति सानो, ३ प्रतिशतको थ्रेसहोल्ड नकाटेको, अर्को चुनावसम्म कुनै सुनिश्चित भविष्य नभएको समूहमा त नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरण यति गाह्रो हुँदोरहेछ, ठूलाको झन् के कुरा गर्नु ।

हुन त यी ५ दशकमा लोकतान्त्रिक भनिएको नेपाली कांग्रेसको नेतृत्व प्रवृत्ति हेर्ने हो भने पनि उही पाँचजना नै हो, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा ।

घनश्याम भुसाललाई नेतृत्व दिन नचाहने एकीकृत समाजवादीका नेता कार्यकर्ताले दुईवटा तर्क गरेको सुनियो, ती दुवै गलत हैनन् ।

पहिलो— कथित १० बुँदे १० मनोविज्ञानमा घनश्याम कमरेड अल्झिए । विद्रोह गर्नुपर्ने बेलामा गरेनन्, ढिला गरी आएर ठूलो कुरा गर्ने ? गफ आदर्श छाँटेर मात्र हुन्न नि ! ठीक बेलामा ठीक निर्णय पनि लिन सक्नुपर्दछ ।

एमालेको सौराहा महाधिवेशनमा भाग लिने, चुनावको टिकटसम्म पर्खिने, टिकट नपाएपछि विद्रोह गर्ने र स्वतन्त्र उठ्ने, पाँचदलीय गठबन्धनको समर्थन लिने, करिब डेढ वर्ष ‘माधव-झलनाथले बेठीक गरे’ भन्ने अनि फेरि त्यही पार्टीमा प्रवेश गरेर अध्यक्ष माग्ने ?

‘अध्यक्ष’ त के ‘महासचिव’ पनि धेरै हो । यसो भन्ने पर्याप्तै भेटिए । बाक्लै सुनिए ।

दोस्रो— के घनश्याम कम्युनिष्ट हुन् ? जसले स्टालिन र माओको विरोध गर्दछ, जसले मार्गदर्शक सिद्धान्तबाट ‘लेनिनवाद’ हटाउनुपर्छ भन्छ, जसले ‘रोजावाद’ को पैरवी गर्दछ, उसले कुनै दिन ‘मार्क्सवाद’ र ‘कम्युनिष्ट’ हटाउँदैन भन्ने के ग्यारेन्टी छ ?

कमरेड घनश्याम ! के यी दुवै तर्कमा दम छैन त ? अवश्य छ ।

कदाचित कसैले यसो भन्यो, घनश्याम भुसाल कम्युनिष्ट पार्टीका लागि ‘जन्मेको मान्छे’ नै हैन, त्यो त्यति ठूलो अतिशयोक्ति हुने छैन । नवकिशोरवय र विकल्पहीनताको अवस्थामा जब कोही कुनै भूमिगत पार्टीको सम्पर्कमा पुग्छ, त्यो उसको ‘मातृ पार्टी’ त बन्ला तर, ‘वास्तविक पार्टी’ पनि त्यही हो भन्न सकिएला र ?

कमरेड घनश्याम ! प्रज्ञा भवनमा ३ दिन कुनै महाधिवेशन भयो कि उही पुरानै कर्मकाण्ड ? उही अध्यक्ष मण्डल, उही प्रतिवेदन वाचन, उही खल्तीबाट नेतृत्वको नामावली घोषणा, उही तालीको गडगडाहट, यही हो महाधिवेशन ?

आधुनिक लोकतन्त्रको ‘अन्तरपार्टी लोकतन्त्र’ यस्तै हुने वा हुनुपर्ने हो ? हैन भने कमरेड घनश्याम ! यो बाँकी मोहचाहिँ खै केको हो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved