काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मत घट्दो क्रममा छ । शुक्रबार मात्रै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पनि समर्थन फिर्ता लिएको छ ।
मत घट्दो क्रममा भए पनि प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । एमालेले नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरण बनाउने सहमति गर्दै समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री प्रचण्ड संसद्मा विश्वासको मतको सामना गर्ने नै निर्णयमा अडिग छन् ।
यद्यपि उनले विश्वासको मत पाउने सम्भावना देखिँदैन । उनको पक्षमा बहुमत जुट्नसक्ने सम्भावना मात्रै भएर केही सांसद नपुगेको भए जोड गरेर पुर्याउन सकिने अवस्था हुन्थ्यो तर, त्यो अवस्था अहिले पटक्कै छैन ।
आज जसपाले पनि समर्थन फिर्ता लिएपछि उनको साथमा जम्माजम्मी ६३ सिट देखिन्छ । उनको दल माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २१ र नेकपा (एकीकृत समाजवादी) को १० गरी उनको साथमा अहिले ६३ सांसदको मात्रै समर्थन छ ।
९९ प्रतिशत विश्वासदेखि अविश्वाससम्म पुग्दै
२०७९ को पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिए । कांग्रेसहितका लगभग सबै दलको गरी २७५ मध्ये २६८ सांसदको विश्वासको मत पाएका थिए । तर, माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरियो ।
यसैले २०७९ चैत ६ गते फेरि प्रधानमन्त्रीले मत लिनुपर्ने भयो । त्यो बेलामा एमाले घटेपछि १७२ मतमा झरे ।
२०८० फागुन २१ गते फेरि समीकरण फेरियो । उनी कांग्रेस छाडेर एमालेसँग मिल्न आए । ३० फागुनमा तेस्रोपटक विश्वासको मत लिँदा कांग्रेसको मत गुम्यो । एमालेको मत जोडियो ।
प्रधानमन्त्री प्रचण्ड । फाइल फोटो ।
त्यतिखेर प्रचण्डले १५७ सांसदको समर्थन पाए । त्यो बेलामा उनको मत फेरि घट्यो । अन्तत: महिना दिनअघि जसपा नेपाल विभाजन भयो । प्रचण्डले फेरि गत जेठ ७ गते विश्वासको मत लिए । उनले तेस्रो पटककै जति मत १५७ सांसदको विश्वासको मत पाएका । अब फेरि २८ असारमा लिन लागेका उनीसँग मत घटेर ६३ मा झर्ने देखिएको छ ।
‘फेल’ हुने परीक्षा किन दिन चाहन्छन् प्रचण्ड ?
अहिले आकलन गर्दा प्रधानमन्त्री प्रचण्डको पक्षमा सालाखाला ६३ मत देखिन्छ । केही दल अनिर्णीत नै छन् । उनको पक्षमा गएमा पनि दशआठ मतभन्दा बढी जोडिँदैन । तर, प्रधानमन्त्रीका कायम रहन १ सय ३८ मत चाहिन्छ ।
यता अन्य दल राप्रपा, जसपा, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्तिलगायतले कांग्रेस-एमालेको समीकरणलाई सहयोग गर्ने देखिएको छ । यति हुँदा हुँदैपनि0 राजीनामा नदिएर विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
आफूहरूबीच सहमति भएपछि एमाले र कांग्रेस दुवै दलले पार्टीबाट औपचारिक निर्णय गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै आएका छन् । तर, संसद् फेस गरेर जाने प्रधानमन्त्रीले बताएका छन् ।
केहीले विश्वासको मतको प्रक्रियामा गए संविधानको धारा ७६(३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठन हुन हुनसक्ने बाटो खोल्ने पक्षमा रहेको बताएका छन् । कतिपयले कानुनी व्याख्याअनुसार ७६(२) को प्रयोग भएपछि संविधानतः अब ७६(३) अनुसार सरकार गठन हुने बताएका छन् ।
यसो हुँदा अहिले दोस्रो ठूलो दल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न नसक्ने तर्क छ । पहिलो ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनसक्ने उनीहरूको तर्क छ । सोही बुझाइका कारण ओलीलाई रोक्न प्रचण्डले विश्वासको मत लिन लागेको कतिपयको विश्लेषण छ ।
तर कतिपयले संविधानविद्हरू भने पुनः ७६(२) प्रयोग गर्न बाधा नपर्ने तर्क राखेका छन् ।
संविधानविद् विपिन अधिकारी भन्छन्, “प्रधानमन्त्रीले संविधानतः ३० दिनभित्र विश्वासको मत लिन पाउनुहुन्छ । बहुमत पाए प्रधानमन्त्रीमा निरन्तर हुनुहुन्छ । त्यसैले वैकल्पिक सरकार बन्ने स्थितिसम्म पहिलो ठूलो दलको अल्पमतको सरकार बन्ने वा संसद् विघटनमा जाँदैन । प्रधानमन्त्रीले विश्वासको मत नपाए भने ७६(२) र ७६(३) दुवैबाट सरकार बन्ने प्रक्रिया वैध हुन्छ ।”
अहिले एमाले र कांग्रेसबीच आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भइसकेको छ । सुरुको २ वर्ष ओली र त्यसपछि देउवाले नेतृत्व गर्ने सहमति छ । देउवालाई पहिलो प्रधानमन्त्री हुनबाटै रोक्न ७ बुँदे सहमति गरिसकेको एमाले नेताहरू बताउँछन् । नयाँ गठबन्धन बनाउन खटिएका कांग्रेका नेताहरू पनि अहिले ओली प्रधानमन्त्री बन्न कुनै अड्चन नहुने बताउँदै आएका छन् ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले भने फरक मत राख्दै आएका छन् । शुक्रबारै काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले राजीनामा नदिएपछि संविधानको धारा ७६ (३) मा जान सक्ने आशंका व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “हामी संविधानलाई टेकेर हिँड्नुपर्छ । प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस् । उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो ।”
नयाँ समीकरणमा राष्ट्रपति के गर्लान् ?
उपधारा ३ अनुसार नयाँ सरकार बन्ने बाटो छेक्न बहुमत सांसदहरूले हस्ताक्षर बुझाउन सक्ने विकल्प रहेको कतिपय ठान्छन् । त्यो बेलामा राष्ट्रपतिज्यूको तजबिजको कुरा हुने कतिपय बताउँछन् ।
कतिपयले यसअघि प्रचण्डको दलसहितको समर्थनमा रामचन्द्र पौडेल राष्ट्रपति बनेकाले ओलीलाई प्रधानमन्त्री बन्न नदिन राष्ट्रपतिलाई उपधारा ३ अनुसार अघि बढ्न प्रेरित गर्न सक्ने अनुमान गरेका छन् । त्यसबारे दुवै दलका नेताहरूले राष्ट्रपतिसँग कुराकानी गरेको छन् ।
Facebook Comment
Comment