सर्वसम्मतिबाटै पदाधिकारी टुङ्ग्याउने एकीकृत समाजवादीको प्रयास, वरिष्ठ उपाध्यक्षमा तीन नेता टसमस भएनन्

नेपालभ्युज

सर्वसम्मतिबाटै पदाधिकारी टुङ्ग्याउने एकीकृत समाजवादीको प्रयास, वरिष्ठ उपाध्यक्षमा तीन नेता टसमस भएनन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सर्वसम्मतिबाटै सबै पदाधिकारी टुङ्ग्याउने प्रयास जारी राखेको छ ।

अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मतिबाटै टुङ्ग्याएको एकीकृत समाजवादीले २१ पदाधिकारी पनि सर्वसम्मतिबाटै टुङ्ग्याउने प्रयास गरिरहेको नेता जगन्नाथ खतिवडाले बताए ।

पार्टीले बिहीबार नै माधवकुमार नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिवका रूपमा सर्वसम्मतिबाटै चयन गरिसकेको छ । यसपछि सबै पदाधिकारी सर्वसम्मतिबाटै टुङ्ग्याउन प्रयास जारी राखिएको हो ।

नेता खतिवडाका अनुसार पार्टीले २१ सदस्यीय पदाधिकारी सर्वसम्मतिबाटै टुङ्ग्याउन खोजिएको छ । “मुख्य मुख्य पदहरू सर्वसम्मतिबाटै टुङ्गिए । अब थप पदहरू पनि यसैगरी टुङ्ग्याउने भनेर छलफल भइरहेको छ,” उनले भने ।

तर, वरिष्ठ उपाध्यक्षमा तीन नेताहरूले अडान छाडेका छैनन् । राजेन्द्र पाण्डे, वेदुराम भुसाल र प्रमेश हमालले दाबी नछाडेका हुन् ।

यसअघि उनीहरू तीनैजना उपाध्यक्ष थिए । यसपटकबाट वरिष्ठ उपाध्यक्ष पद सृजना भएपछि उनीहरू तीन जनाबीच माथापच्ची भएको हो ।

यसबाहेक उपाध्यक्ष, उपमहासचिव, सचिवलगायतका पदहरूमा नेताहरूले त्यति दह्रोगरी दाबी गरेका छैनन् । बताइएअनुसार सबै पदहरूमा प्राय: पहिलेकै नेताहरू रहनेछन् ।

अध्यक्ष माधवकुमार नेपालले सकेसम्म आजै सबै पदाधिकारी टुङ्ग्याउने प्रयास भइरहेको बताए । महाधिवेशन स्थलमा पत्रकारहरूसँग उनले भने, “सकेसम्म महाधिवेशन स्थलबाटै पदाधिकारी टुङ्ग्याउने प्रयास गर्नेछौँ,”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved