टी–२० विश्वकप क्रिकेट

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

नेपालभ्युज

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं । अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । उसले सेमिफाइनलमा इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर एटमा लगातार तेस्रो जितसँगै भारत समूह १ को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । अहिलेसम्म सेमिफाइनल पुग्ने ३ टोलीको टुङ्गो लागिसकेको छ ।

सोमबार राति भएको खेलमा २०६ रनको उच्च लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १८१ रन मात्रै बनाउन सक्यो ।

उसका ट्राभिस हेडले ४३ बलमा ७६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ४ छक्का र ९ चौका प्रहार गरेका थिए ।

भारतका अर्शदीप सिंहले ३, कुलदीप यादवले २ तथा जसप्रित बुमराह र अक्षर पटेलले १-१ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले पुरै ओभर खेलेर ५ विकेट क्षतिमा २०५ रन बनाएको थियो । उसका लागि कप्तान रोहित पौडेलले ४१ बलमा ९२ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ८ छक्का र सात चौका प्रहार गरेका थिए ।

यो हारसँगै अष्ट्रेलिया सुपर एटबाटै बाहिरिने सम्भावना देखिएको छ । उता अफगानिस्तानको सम्भावना भने बढेको छ । आफ्नो अन्तिम खेलमा मंगलबार बंगलादेशलाई हराउन सके अफगानिस्तान सेमिफाइनलमा पुग्नेछ ।

बंगलादेशको पनि गणितीय सम्भावना कायमै छ । त्यसका लागि उसले अफगानिस्तानलाई विशाल अन्तरले हराउनु पर्नेछ । ग्रुप एकमा अष्ट्रेलिया र अफगानिस्तानको २-२ अंक छ भने बंगलादेश अंकविहीन छ ।

बंगलादेशले अफगानिस्तानलाई हराएमा भने नेट रनरेटका आधारमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved