स्थानीयको हत्या गर्ने वन्यजन्तु आरक्षका सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्नुपर्छ : महेश बर्तौला

नेपालभ्युज

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादुर तितुङलाई गोली हानी हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० निवासी तितुङलाई सो आरक्ष क्षेत्रमा पसेको भन्दै त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको बताए । त्यस्तो जघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

घटना अस्ति ७ गतेको भएको उनको भनाइ छ । ‘त्यहाँको स्थानीय नागरिक, जसले त्यहाँको वनजंगल संरक्षण गरे । त्यहाँको जैविक विविधताको संरक्षण गर्न स्थानीय समुदाय लाग्छन् । तर मध्यवर्तीको कारणले गर्दा, आरक्षणको कारणले गर्दा र निकुञ्जको कारणले गर्दा त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवीयताको पनि नराखिकन छातीमा गोली ठोकेर हत्या गर्नेसम्मको ठूलो जघन्य अपराध भयो’, उनले भने ।

प्रमुख सचतेक बर्तौलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका स्थानीयलाई त्यहाँका प्रशासन, वन्यजन्तुले दुःख दिने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारलाई ध्यान दिन आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved