स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : परराष्ट्रमन्त्री श्रेष्ठ

नेपालभ्युज

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : परराष्ट्रमन्त्री श्रेष्ठ
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासङ्घ नेपालले संयुक्तरुपमा शनिबार आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नैपर्ने बताए ।

मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उनले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको बताए ।

राजनीतिक परिवर्तनपछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै श्रेष्ठले भने, “यसमा आलोचना गरौँ तर, मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, समस्यालाई सच्याएर अगाडि बढौँ ।”

उनले जनताको सङ्घर्षको बलमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु वर्तमानमा सबैको आवश्यकता भएको उल्लेख गरे ।

“राजनीतिक प्रणालीलाई प्रजातन्त्रिक त बनायौँ, तर यसले सामाजिक आर्थिक रुपान्तरणका पक्षमा माध्यम र साधनको काम गर्नुपथ्र्यो, त्यसो हुन सकेको छैन”, उनले भने, “आर्थिक समृद्धिलाई तीव्र पारेर मुलुकलाई सबल बनाउनुपर्छ ।”

मुलुकमा वैचारिक र सांस्कृतिक रुपान्तरणको आन्दोलनको खाँचो रहेको औँल्याउँदै श्रेष्ठले समाजका सबै पक्षभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved