भ्युजटक

ठूला पार्टीसँग एकता गर्दैनौँ, त्यो विलय हुन्छ : उपमहासचिव खतिवडा (अन्तर्वार्ता)

'महाधिवेशनपछि पार्टी फरक तवरले अगाडि बढ्छ'

उपमहासचिव खतिवडाले अहिले ठूला कम्युनिष्ट पार्टीसँग एकता नगर्ने बताए । बलियो र दुब्लो पार्टीबीच एकता नहुने जिकिर उनको थियो ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दशौं महाधिवेशनपछि पार्टी फरक र अझ परिपक्व तवरबाट अगाडि बढ्ने दाबी गरेका छन् । नेपालभ्युजको कार्यक्रम ‘भ्युजटक’ मा संवादका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

“निश्चय नै महाधिवेशनपछि हामी कार्यक्रमिक रूपमा, नीतिगत तथा वैचारिक रूपमा पनि फरक तवरले अगाडि बढ्नेछौँ,” उनले भने ।

त्यसैका लागि आफूहरूले जनताको बहुदलीय जनवाद (जबज) लाई छाडेर मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएको उनले बताए । त्यस्तै पार्टीले समाजवादी क्रान्तिलाई मूल कार्यक्रम बनाएको उनले बताए । “यो महाधिवेशनमार्फत हामीले यो हाम्रो कार्यक्रमबारे जनतालाई जानकारी दिनेछौँ र समाजवादी क्रान्तिको पूर्वाधारको आधार तयार गर्नेछौँ,” उनले भने ।

‘सबै पार्टीलाई सम-निकटमा राख्छौँ’

उपमहासचिव खतिवडा आफूहरूले सबै पार्टीहरूलाई सम-निकटमा राख्ने बताउँछन् । सत्तामा हुँदाहुँदै प्रतिपक्षसँग पनि किन बढी हिमचिम भन्ने प्रश्नमा उनले भने, “हाम्रो पार्टीको मूल नीति नै सबै दलसँग समान सम्बन्ध बनाउनुपर्छ भन्ने हो । त्यहीअनुरूप हामी सबै दलसँग मिल्छौँ । मिलिरहेका छौँ ।”

उनले एउटाको मात्रै भर गरेर हिँड्दा पटकपटक धोका पाएको पनि बताए । “केपी शर्मा ओलीबाट पनि धोका भयो, हामीले विद्रोह नै गर्नुपर्‍यो । प्रचण्डजीले पनि पटकपटक धोका दिनुभएकै छ । अनि कसको भर गर्ने ?,” उनले प्रतिप्रश्न गरे ।

‘ठूलासँग एकता गर्दैनौँ, त्यो विलय हुन्छ’

उपमहासचिव खतिवडाले अहिले ठूला कम्युनिष्ट पार्टीसँग एकता नगर्ने बताए । बलियो र दुब्लो पार्टीबीच एकता नहुने जिकिर उनको थियो ।

ठूलो र सानो पार्टीबीच एकता नभइ विलय हुने उनले बताए । “जस्तै अहिले एमालेसँग २७ लाख मत छ, हामीसँग ३ लाख छ । अनि २७ र ३ को कहाँ एकता हुन्छ, यो त विलय हुन्छ,” उनले भने ।

उनले थपे,”हामी काम गर्दैछौँ । हामी विचारमा सही भएपनि सङ्गठनमा सानो छौँ । कुनै दिन विचार र सङ्गठन दुवैमा बलियो भएपछि र देखाउनलायक पार्टी भएपछि गलत विचारको सङ्गठनमा रहने साथीहरू पनि हाम्रो पार्टीमा आउनुहुन्छ भन्ने विश्वास छ । पार्टी थप स्थापित हुनेछ । त्यसपछि हामी पार्टी एकताको कुरा गर्नेछौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved