काठमाडौं । प्रहरीले साढे ४ किलो लागूऔषध कोकिनसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६८ वर्षिय तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगा, ३३ वर्षिय बोलिभियन नागरिक लौरा क्रूज टिकोना ला, ३९ वर्षिय भेनेजुलियन नागरिक सिमोन एन्टोनियो एलफोन्जो राडा र २७ वर्षिया भारतीय लालरूतसाँगी छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
उनीहरूले निलेर पेटमा राखी र कपडाको टाँकमा लुकाएर कोकिन ल्याएको पाइएको प्रहरीले जनाएको छ । जसको बजार मूल्य १५ करोड ७६ लाख रूपैयाँ रहेको छ । जेठ २७ देखि असार ४ सम्ममा काठमाडौंको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

कसरी नेपाल ल्याए कोकिन ?
चार जनाबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको छ । शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूमाथि गरिएको अपरेशनमार्फत् उनीहरूलाई पक्राउ गरिएको हो ।
गत असार २७ गते फ्लाई दुबईबाट नेपाल आएका तान्जानियन माबुगालाई काठमाडौं महानगरपालिका-१६ ठमेलस्थित एक होटेलबाट पक्राउ गरिएको थियो । उनको साथबाट १८ क्याप्सुल कोकिन बरामद गरिएको थियो ।
उनले प्लाष्टिक कोटेड कोकिनका क्याप्सुलहरू इथियोपियाको अदिस अबाबा शहरमा पुगेर निलि नेपाल ल्याएको पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा उनले आफूसंग पेटमा थप क्याप्सुहरू रहेको बताएपछि उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंज लैजाँदा थप ५९ क्याप्सुलहरूसमेत गरी जम्मा ७७ वटा कोकिनका क्याप्सुलहरू निकालिएको छ । जुनको परिमाण १ केजी २०६ ग्राम छ ।
उनको हाल निजको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भईरहेको छ।

यस्तै, असार ३० गते इमिरेट्सको विमानबाट ब्राजिल हुँदै काठमाडौं आएका बोलिभियन नागरिक लौराले कपडाको टाँकमा लुकाएर ल्याएको अवस्थामा कोकिन बरामद गरिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमनतर्फ शंका लागि चेकजाँच गर्दा निजको निलो रङको झोला खानतलासी गर्दा झोलाभित्र महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगाहरूमा भएका बटनहरूभित्र कोकिन लुकाएर ल्याएको पाइएको हो । त्यहाँबाट २ किलो १०० ग्राम बरामद गरिएको थियो ।
यस्तै, जेठ १ गते कतार एअरबाट नेपाल आएका भेनेजुलियन नागरिक सिमोनको साथबाट १ किलो १९८ ग्राम बराबरको ९२ क्यासुल कोकिन बरामद गरिएको छ ।
काठमाडौं महानगर-२६ स्थित एक होटलमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा उनलाई ४ गते पक्राउ गरिएको थियो । त्यसक्रममा होटलको कोठाभित्र चेकजाँच गर्दा कोकिनका ९२ क्यासुल बरामद गरिएको हो ।

अनुसन्धानको क्रममा उनले उक्त क्यासुलहरू ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र लुकाउछिपाउ ल्याएको पाइएको छ ।
उक्त कोकिनका क्यासुलहरू डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरूतसाँगी पनि सोही स्थानबाट पक्राउ गरिएको हो ।
लालरूतसाँगीले कोकिनका क्यासुलहरू भारतको राजधानी नयाँदिल्लीसम्म लैजान लागेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही भईरहेको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
Facebook Comment
Comment