काठमाडौं । गोकर्णेश्वरको विभिन्न स्थानबाट सङ्गठित अपराधको आरोपमा पक्राउ परेका चार जनालाई काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका आदर्श क्षेत्री, अस्मिता खत्री र राजु सुनारलाई प्रहरीले जोरपाटीबाट र प्रेम प्रसाद श्रेष्ठलाई नयाँपाटीबाट सोमबार पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरूलाई ‘अभियन्ता हौँ’ भन्दै गैह्र कानुनीरूपमा संस्था खोली ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूले गोकर्णेश्वरमा ‘बेथिति एवं भ्रष्ट्राचार विरुद्धको अभियान २०८०’ नामक संस्था खोली विभिन्न वडाहरूमा त्यसका शाखाहरू समेत अवैध रूपमा विस्तार गरी विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, सङ्घसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समिति आदिमा गएर ठगी गर्ने गरेको जाहेरी परेसँगै पक्राउ गरिएको हो ।
आरोपितहरूले ‘हामीहरू भ्रष्ट्राचार विरोधी अभियन्ता हौँ, तिमीहरूको विरुद्धमा भ्रष्ट्राचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौँ, हामीलाई सबै हिसाबकिताब देखाउ भन्दै असम्बन्धित सूचनाहरू माग्ने र पदाधिकारी तथा कर्मचारीहरूलाई धम्काउने, मुद्दा हाल्दिन्छु भनी आतङ्क सृजना गरी भिडियो बनाई अनाधिकृत तवरले रकमसमेत असुली गरी ठगी गर्ने तथा पुष्टि नै नभएका कुराहरूलाई सामाजिक सञ्जालमा राखी चरित्र हत्या गर्ने जस्ता कार्यहरू गर्ने गरेको प्रहरीको आरोप छ ।
पक्राउ परेका व्यक्तिहरू सुनार नेपाल दलित विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रिय कार्यकर्ता, खत्री अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य र श्रेष्ठ रास्वपा गोनपा-२ को इकाई अध्यक्ष समेत रहेका छन् ।
Facebook Comment
Comment