एमाले-रास्वपा : बजेटमा असन्तुष्ट तर, सरकार टिकाउने ‘सङ्कल्प’

नेपालभ्युज

एमाले-रास्वपा : बजेटमा असन्तुष्ट तर, सरकार टिकाउने ‘सङ्कल्प’

काठमाडौं । सरकारप्रति सत्ता साझेदार दलहरू नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा छिटपुट असन्तुष्टि देखिएको छ । मुख्यगरी आर्थिक वर्ष २०८१/८२ को बजेटलाई लिएर उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सत्ता गठबन्धनका ‘सुप्रिमो’समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायतले बजेटका सन्दर्भमा असन्तुष्टि व्यक्त गरिसकेका छन् । आफूहरूसँग संवाद नै नगरी बजेट ल्याएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।

केहि दिनअघि ओलीले सार्वजनिक कार्यक्रमका बीच नै प्रश्न गरेका थिए, “हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?”

त्यस्तै पार्टीको संसदीय दलको बैठकमा उनले बजेट सरकारको नभइ पार्टीको जस्तो भएको खह्रो टिप्पणी गरेका थिए । यसबाट पुष्टि के हुन्छ भने एमाले बजेटको सन्दर्भलाई लिएर सरकारसँग सन्तुष्ट छ ।

यता रास्वपा पनि सरकारसँग सन्तुष्ट छैन । यसअघि संसदीय दलका उपनेतासमेत रहेका खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले राजीनामापत्र गोजीमा बोकेर हिँडेको बताउँदै भनेका थिए, “सरकारलाई दिएको समर्थनको समीक्षा गर्नुपर्ने बेला भएको छ ।”

त्यसोभए एमाले र रास्वपा सरकारसँग असन्तुष्ट छन् ? नेताहरू सङ्केत गर्छन् कि— असन्तुष्ट छन् । यद्यपि उनीहरू सत्ता समीकरणलाई निरन्तरता दिने पक्षमा भने छन् ।

आज मात्रै चितवन पुगेका प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि उनीहरूमा केही असन्तुष्टि भएको स्वीकारेका छन् । “एमालेले असन्तुष्ट जनाएपनि भित्री रूपमा त्यस्तो छैन, ठीकै छ । राजीनामा गोजीमा बोकेर हिँड्नु रास्वपाको पहिचान होला । रवि लामिछानेजीले त्यस्तो केही भन्नुभएको छैन । उहाँहरूसँग म संवादमा नै छु ।”

संसदीय क्यालेन्डरअनुरूप बजेट असार ७ गते संसद्‌बाट पारित हुँदैछ । त्यसबेला भने एमाले-रास्वपाले धोका नदिनेमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) नेताहरू ढुक्क छन् । यसअघि नेपालभ्युजसँगको कुराकानीका क्रममा माओवादी सचिव दीनानाथ शर्माले भनेका थिए, “केही असन्तुष्टिहरू हुन्छन् तर, त्यसले असर गर्दैन । बजेटमा मात्रै होइन, सत्ता साझेदार दलहरूले साथ दिन्छन् । यो गठबन्धन र सरकार निरन्तर अर्को आवधिक निर्वाचनसम्म जान्छ भन्ने नेताहरूको विश्वास छ ।”

०००

एमाले प्रमुख सतेचक महेशकुमार बर्तौला आफूहरूले असन्तुष्ट व्यक्त गरेको मात्रै बताउँछन् । तर, सत्ता समीकरणमा समस्या नआउने ठोकुवा उनको छ । “असन्तुष्टहरू राखेका हौँ तर, गठबन्धनमा नै समस्या आउनेगरी चाहिँ होइन,” उनले भने ।

रास्वपा पनि बजेटलाई लिएर असन्तुष्ट छ । तर, गठबन्धनको विकल्प नै खोज्नेबारे भने पार्टीमा छलफल नभएको रास्वपाका एक नेता बताउँछन् । “बजेट जसरी आयो, त्यसले बाचापत्रअनुसार काम गर्न सकिँदैन कि भन्ने हो । त्यसैले असन्तुष्ट भएको पनि हो । तर, यसकारण गठबन्धन वा सरकारमा सहमस्या आउनु भएन भन्नेमा हामी प्रष्टै छौँ,” ती नेताले भने ।

के गठबन्धनमा खटपट सुरु भएको हो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved