के गठबन्धनमा खटपट सुरु भएको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि आफूलाई भेट्न आउने नेता/कार्यकर्ताहरूसँग भनेका थिए— उता अप्ठ्यारो भयो भनेर यता गठबन्धन गरियो, यता झन् टाल्दाटाल्दै हैरान भइयो ।

के गठबन्धनमा खटपट सुरु भएको हो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि आफूलाई भेट्न आउने नेता/कार्यकर्ताहरूसँग भनेका थिए— उता अप्ठ्यारो भयो भनेर यता गठबन्धन गरियो, यता झन् टाल्दाटाल्दै हैरान भइयो ।

प्रधानमन्त्री प्रचण्डको यो हैरानी यतिकै आएको भने होइन। अहिलेको सत्ता गठबन्धनका आफ्नै समस्या छन् । गठबन्धनमा रहेका दलहरूको राजनीतिक विचार-सिद्धान्त मिल्दैन । नेताहरूबीच व्यक्तिगत ‘इगो’ बढी छ । नयाँ-पुरानो दलहरू छन् । यी र यस्तै यावत् कारणले प्रधानमन्त्री प्रचण्ड मिलाउँदा-मिलाउँदै, टाल्दाटाल्दै हैरान छन् । पछिल्लो समय त अझ गठबन्धनभित्र खटपट सुरु भएको आकलन गरिन्छ । हुन त त्यसको प्रभाव छिटपुट रूपमा बाहिर पनि देखिन थालेको छ ।

प्रधानमन्त्री प्रचण्ड मुख्यत: सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) को बेमेल, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथिका आरोप-प्रत्यारोप तथा रिट-मुद्दा, सत्ता साझेदार दलहरूको छुट्टाछुट्टै असन्तुष्टि लगायतका विषयले हैरानीमा छन् ।

यसैमाथि एमालेले बजेटलाई लिएर असन्तुष्टि व्यक्त गरेको छ । आफूसँग परामर्श नगरी बजेट ल्याएको भन्दै एमाले नेताहरूले सार्वजनिक रूपमा नै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा ‘सरकारको बजेट हो कि पार्टीको हो’ भनेर बोलेका थिए ।

माधवको मनमा छैन चैन !

पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद्‌को रोस्ट्रममा नै उभिएर बजेट परामर्श नगरी ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे । खासगरी अध्यक्ष ओलीको भनाइसँग प्रधानमन्त्री प्रचण्डको असन्तुष्टि र चित्तदुखाइ रहेको उनीनिकट स्रोत बताउँछन् । स्रोतले भन्यो, “ओलीजीले बोल्दा पनि आन्तरिक बैठकमा बोलेको भए हुन्थ्यो, सार्वजनिक रूपमा नै बोल्दा बाहिर नराम्रो सन्देश गयो भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।”

प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) का नेताहरूका अनुसार ओलीले खासगरी बजेटमा समावेश भएको जनयुद्ध, जनमुक्ति सेनालगायतका शब्दावलीमा असन्तुष्ट जनाएका हुन् । माओवादीका सचिव दीनानाथ शर्मा ओलीको बोली र असन्तुष्टिको कटाक्ष गर्छन् ।

“ओलीजीले पहिलेदेखि नै जनयुद्ध शब्द मन पराएको छैनन् । बजेट जनयुद्ध शब्दावली र जनमुक्ति सेनाको व्यवस्थापनका विषयमा बोलेकाले राजनीतिक स्टन्ट बनाएका हुन् । असन्तुष्टि जनाउनु स्वाभाविक हो,” शर्माले भनेका छन् ।

रास्वपालाई ओलीले हेप्न थाल्नुको कारण

यता सत्ता गठबन्धनमा बसेर ‘यता पनि ठीक्क, उता पनि ठीक्क’ जस्तो देखिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ओलीले प्रधानमन्त्री प्रचण्डकै सामु ‘सरकारमा बस्ने कि नबस्ने, कित्ता क्लियर गर्नुस्’ भनेर भनेका छन् । सोमबार बिहान भएको तीन नेताको भेटवार्तामा ओलीले नेपाललाई कित्ता क्लियर गर्न भनेका हुन् ।

हुन पनि गठबन्धनभित्र एकीकृत समाजवादी बढी ‘बार्गेनिङ्ग’मुखी देखिन्छ । प्रतिनिधि सभामा १० सिट भएको उसले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको छ भने अन्य प्रदेशहरूका मन्त्रिपरिषद्‌मा पनि अटाएको छ । यति हुँदा पनि चित्त नबुझाएर उसले मधेस प्रदेशमा विपक्षी दल जनता समाजवादी पार्टी, नेपाललाई समर्थन जनाएर बसेको छ । यसपछि ओलीले नेपाललाई कित्ता क्लियर गर्न भनेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने ‘यस्तो नभनिहालेको भए हुन्थ्यो’ भनेर भनेको बताइन्छ । यसले गठबन्धनलाई थप कमजोर बनाउन सक्ने भन्दै उनले बरु अरु दलहरूलाई पनि गठबन्धनमा समेट्नुपर्ने बताएका छन् ।

यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने ओली र प्रधानमन्त्री प्रचण्डले आफूलाई ‘नगनेको’ भनेर असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । यद्यपि नेपालको यो असन्तुष्टि नयाँ भने होइन । गठबन्धनभित्र हुने छलफल, काम तथा सरकारले गर्ने निर्णयमा आफ्नो ‘रिक्तता’को महसुस गर्ने गरेका नेपालले आफूसँगको छलफलबिना नै गठबन्धनले निर्णय लिने गरेको भनेर असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।

यता अर्को सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि चर्को असन्तुष्टि छ गठबन्धनका प्रमुख दलहरूसँग । रास्वपा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको दल हो । रास्वपाले गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको मागमा एमाले-माओवादीले अडान राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा र त्यसका नेताहरूलाई तारो बनाएको भन्दै रास्वपा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । यसअघि ओलीले कांग्रेसलाई गाली गर्दै ‘…भङ्गेरालाई तोपको आवश्यकता नपर्ने’ बताएका थिए । यस्तै उनले रास्वपा सांसद तथा शिक्षामन्त्री सुमना श्रेष्ठमाथि धावा बोलेका छन् । उनले ‘माइती घुम्न आउँदा मन्त्री बनेको’ भनेर बोलेका छन् ।

यी सन्दर्भहरूमा रास्वपाको असन्तुष्टि छ । रास्वपाका एक नेताले भने, “सत्ता साझेदार दलबाट यस्तोखाले भनाइ र व्यवहारको अपेक्षा गरिँदैन । निरन्तर हामीमाथि नै खनिनुपर्ने कारण के हो बुझिएको छैन ।”

सुमनाप्रति ओलीको अभिव्यक्तिको सार- महिलाको छुट्टै अस्तित्व हुँदैन

सत्ता साझेदार दलहरूबीचको यसखाले बेमेल र नेताहरूको एकअर्काविरुद्धको टिका-टिप्पणी र अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री प्रचण्ड हैरानीमा छन् । यसपछि कतिपयले गठबन्धनभित्र खटपछ सुरु भएको आकलन गर्छन् । तर, त्यसो नभएको सत्ता साझेदार दलका नेताहरू बताउँछन् ।

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला भन्छन्, “गठबन्धन ठीकसँग चलिरहेको छ । त्यसमा केही खटपट छैन । बजेटको सन्दर्भ जो छ, त्यसमा आफूलाई लागेको कुरा भनिएको हो । त्यो भन्न पाइन्छ । तर, सरकारप्रति कुनै असन्तुष्टि होइन ।”

माओवादी सचिव दीनानाथ शर्मा पनि गठबन्धनभित्र खटपट सुरु भएको अस्वीकार गर्छन् । “गठबन्धनमा खटपट छैन । ठीकसँग चलिरहेको छ । सानातिना असन्तुष्टिहरू देखिएका छन्, त्यसले गठबन्धनलाई प्रभाव पार्दैन ।”

प्रधानमन्त्री प्रचण्डले २०८० फागुन २१ गते नेपाली कांग्रेसको नेतृत्वमा भएको सत्ता गठबन्धन एमालेको काँधमा सारेका हुन् । दुई महिना पनि पुग्दानपुग्दै गठबन्धनभित्र दलीय तथा नेतापिच्छेका असन्तुष्टि देखिनु राम्रो सङ्केत भने होइन । यी असन्तुष्टिहरू यहीँ सकिएलान् वा ठूलो बन्लान्, हेर्न बाँकी छ । यद्यपि प्रधानमन्त्री प्रचण्डसहितका नेताहरूले वर्तमान गठबन्धन निरन्तर पाँचै वर्ष जाने दाबी गर्न छाडेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved