एकीकृत समाजवादीमा नेतृत्वका लागि माथापच्ची, अध्यक्षमा उठ्लान् घनश्याम भुसाल ?

त्यसो त घनश्याम भुसाल अध्यक्ष मावकुमार नेपालले एकीकृत समाजवादी गठन गरेको निकैपछि मात्रै पार्टीमा जोडिएका हुन् । त्यसकारण उनलाई धेरै नेताले अध्यक्षका रूपमा नस्वीकार्न सक्छन् । हुन पनि उनी १० बुँदे सहमति गरेर एमालेमा नै बसेका नेता हुन् ।

एकीकृत समाजवादीमा नेतृत्वका लागि माथापच्ची, अध्यक्षमा उठ्लान् घनश्याम भुसाल ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशन आउँदो असार १६-२० काठमाडौंमा हुँदैछ । यता प्रमुख नेताहरूबीच भने अहिल्यैबाट नेतृत्व कसले लिने भन्ने  ‘माथापच्ची’ सुरु भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल आफैँ अध्यक्ष दोहोरिने मनसायमा छन् । उनी आफैँ अध्यक्ष बनेर प्रमुख पद अहिलेजस्तै पूर्ति गर्न चाहन्छन् । उनी हाल सम्मानित नेता रहेका झलनाथ खनाललाई त्यहीँ रहन दिएर महासचिवमा घनश्याम भुसाललाई नै दोर्‍याउन चाहन्छन् ।

तर, सम्मानित नेता खनाल पनि आफू अध्यक्ष बन्न चाहेका छन् । उनले त्यसका लागि अध्यक्ष नेपाललाई अनौपचारिक प्रस्तावसमेत पठाइसकेका छन् । ‘ओली मोडेल’ भन्दै नेता खनालले अध्यक्ष नेपाललाई पठाएको प्रस्तावमा आफूलाई अध्यक्ष छाडेर नेपालले संसदीय दलको नेतृत्व गर्नुपर्ने उल्लेख छ । त्यहाँ २०७० को संविधानसभा चुनावपछि खनाल अध्यक्ष नै हुँदा केपी शर्मा ओली संसदीय दलका नेता बनेका थिए ।

तर, अध्यक्ष नेपाल भने त्यसबारे मौन छन् । उनले पार्टी जेका लागि गठन भएको हो, ती कामहरू हुनै बाँकी रहेको र त्यो आफ्नो नेतृत्वमा मात्रै सहज रूपमा हुने बताउने गरेका छन् । एक पदाधिकारी नेपालभ्युजसँग भन्छन्, “हामीले पार्टी गठन गर्दैगर्दा विचार मिल्ने अरु दलहरूसँग एकता गर्दै वामपन्थी आन्दोलन सुदृढ र नेतृत्व गर्ने घोषणा गरेका थियौँ । ती कामहरू अध्यक्ष कमरेडले मेरै नेतृत्वमा होस् भनेर भन्नुभएको छ ।”

नेपाल-खनालले अध्यक्ष बन्ने सङ्कल्प लिइरहँदा महासचिव घनश्याम भुसाल ‘मुख्य’ बन्न पुगेका छन् । महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा महासचिव भुसाल हाबी भएका छन् । उनले प्रतिवदेनको मस्यौदा लेखेर सकाउन लागेका छन् ।

प्रतिवेदनमा उनले जनताको बहुदलीय जनवाद (जबज) लाई ‘बाइपास’ गरेका छन् । त्यसलाई अध्यक्ष नेपालले नकारेका छन् भने नेता खनालले स्वागत गरेका छन् । जबजका सम्बन्धमा नेता खनाल र महासचिव भुसालको मत मिलेको छ ।

उनीहरू जबजलाई कम्युनिष्टहरूले संसदीय चुनावमा भाग लिन्छौँ भनेर गरिएको एक घोषणा मात्रै भएको रूपमा व्याख्या गर्छन् । तर, अध्यक्ष नेपाल भने जबज छाड्न नहुने पक्षमा छन् । अध्यक्ष नेपाल मस्यौदामा जबज नअटाएकोमा सन्तुष्ट छैनन् ।

नेताहरूले बताएअनुसार उनले एकपटक महासचिव भुसालको ध्यानाकर्षण पनि गराइसकेका छन् । उनीनिकट नेताहरूले बताएअनुरूप महासचिव भुसालले त्यसमा ठोस प्रतिक्रिया जनाएका छैनन् । तर, अब भने अध्यक्ष नेपाल दोहोर्‍याएर नभन्ने पक्षमा पुगेका छन् । किनकि उनी महासचिव भुसाललाई चिढ्याउन चाहँदैनन् ।

अहिलेसम्म आफ्नो कित्ता ‘क्लियर’ गरिनसकेका महासचिव भुसाल अध्यक्ष नेपाल र नेता खनालको तानातानमा परेका छन् । यदि महाधिवेशनमा चुनाव नै हुने अवस्था आए महासचिव भुसाल जुन कित्तामा उभिए, त्यतैतिर अध्यक्ष हात पर्ने सम्भावना बढी हुन्छ । त्यसकारण अध्यक्ष नेपाल र नेता खनाल महासचिव भुसाललाई आफ्नो कित्तामा उभ्याउन चाहन्छन् ।

दुवैको दाउ आफू अध्यक्ष बनेर भुसाललाई पुन: महासचिवको जिम्मेवारी दिने छ । तर, यसमा महासचिव भुसालले केही बोलिसकेका छैनन् । तर, उनले आफूनिकटका नेताहरूसँग नेतृत्व नै गर्न खोजेको बताउने गरेका छन् । यद्यपि अध्यक्ष नेपाल र नेता खनाल दुवै अध्यक्षका लागि भुसाललाई समर्थन गर्ने पक्षमा भने छैनन् ।

गत सोमबार नेता खनालले आफ्नै निवासमा आफूनिकटका नेता तथा जिल्ला अध्यक्षहरूसँग छलफल गरे । उनले नेताहरूलाई हाम्रो ‘विचार समूह’मा कति मान्छे छन् ? भनेर सोधेका थिए । बताइएनअनुसार खनाललाई डेढ दर्जन जिल्ला अध्यक्षले साथ दिएका छन् ।

त्यहाँ उपस्थित नेताहरूले नेता खनालको जिज्ञासामा महासचिव घनश्याम भुसाललाई मनाउनैपर्ने सुझाव दिएका थिए । अध्यक्ष नेपाल भने बहुसङ्ख्यक पदाधिकारी/नेताहरू आफ्नै कित्तामा रहेको दाबी गर्छन् । त्यसकारण आफूलाई खास सकस नहुने बुझाइमा उनी छन् । अझ उनले महासचिव भुसालले पनि आफैँलाई साथ दिने बताएका छन् ।

कुनै कित्तामा नखुलिसकेका महासचिव भुसालले आफैँ अध्यक्ष उठ्ने तयारी गरेको पनि आफूनिकटका नेता/कार्यकर्ताहरूसँग बताउने गरेका छन् । यसबारे सोध्दा भुसालले अहिल्यै यसबारे केही नबोल्ने प्रतिक्रिया दिए ।

त्यसो त भुसाल अध्यक्ष नेपालले एकीकृत समाजवादी गठन गरेको निकैपछि मात्रै पार्टीमा जोडिएका हुन् । त्यसकारण उनलाई धेरै नेताले अध्यक्षका रूपमा नस्वीकार्न सक्छन् । हुन पनि उनी १० बुँदे सहमति गरेर एमालेमा नै बसेका नेता हुन् । पछिल्लो संसदीय निर्वाचनमा एमालेबाट टिकट नपाएपछि तत्कालीन वाम-लोकतान्त्रिक गठबन्धनको समर्थनमा रुपन्देही १ बाट त्रिभूज चिह्न लिएर उठेका उनी पराजित भएका थिए ।

तानावाइको गुल्सारी र घनश्याम भुसाल

त्यसपछि केही महिना राजनीतिक रूपमा निष्क्रिय बसेका उनी पछि एकीकृत समाजवादीमा प्रवेश गरेर महासचिव बने । त्यसकारण अध्यक्ष नेपाल, नेता खनालसहित बहुसङ्ख्यक पदाधिकारी/नेताहरू त्यसबेला भुसालले धोका दिएको ठान्छन् ।

यस्तो अवस्थामा उनले अध्यक्षमा उठ्ने साहस गर्लान् नगर्लान्, त्यो पछि नै देखिएला । तर, उनको अध्ययन र विचारबाट प्रभावित धेरै नेता/कार्यकर्ता भने पार्टीभित्र छन् । विशेषगरी तेस्रो पुस्ताका नेता/कार्यकर्ताले भुसाललाई अघि बढ्न सुझाव दिइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved