काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन् ।
भारतसँग भएका असमान सन्धी सम्झौता पुनर्लेखनका लागि प्रबुद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर शुरु गर्ने आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौँ भन्ने आफूलाई दलाल देख्ने तर कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरूलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिर समेत गरे ।
उनले आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पारे । उनले भारतसँगको असमान सन्धी सम्झौता खारेज गर्नका लागि पनि मुलुकमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताए ।
Facebook Comment
Comment