न्यूओर्कमा रन बन्न नसक्नुको मुख्य कारण ड्रप-इन पिच हो ?

नेपालभ्युज

न्यूओर्कमा रन बन्न नसक्नुको मुख्य कारण ड्रप-इन पिच हो ?

काठमाडौं। टी-२० विश्वकपका लागि विशेष गरी निर्माण गरिएको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको डेब्यू सोचेजस्तो भएन । न्यूओर्कमा यो स्टेडियम आइसीसीले करिब ३ महिनामा तयार पारेको थियो ।

विश्वकपमा ८ खेल यहाँ हुनेछन् । छोटो समयमा तयार पारिएको यो मैदानमा कुनै पनि टोलीले ठूलो स्कोर बनाउन सकेका छैनन् । जसका कारण यसले अहिले धेरैको ध्यान खिचेको छ ।

यो स्टेडियमको पिच अत्यधिक ‘बाउन्सी’ भएको पाइएको छ । यहाँको पिचमा विश्वकपको पहिलो २ खेलमा १०० रन कटेन । त्यसपछि आइसीसीले यसमा सुधार गर्ने प्रतिबद्धता जनायो ।

जुन ३ मा सो स्टेडियममा खेलाइएको पहिलो खेलमा श्रीलंका ७७ रनमा अलआउट भयो । ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा पूरा गर्‍यो ।

जुन ५ मा भएको खेलमा भारतले आयरल्याण्डलाई ९६ रनमा अलआउट गर्‍यो । भारतले सो खेल ८ विकेटले जित्यो । सो खेलमा रोहित शर्मा र ऋषव पन्त घाइते भएका थिए । जसप्रित बुमराहले प्रहार गरेको बाउन्सरमा ह्यारी टेक्ठर पनि घाइते भए ।

भारत-आयरल्याण्डबीचको खेलपश्चात् सो पिचको आलोचना चुलियो । खेलाडीका लागि सो पिच घातक भएको टिपणी हुन थाले ।

जुन ९ मा भएको भारत र पाकिस्तानबीचको खेलमा भने १०० को आकडा कट्यो । भारत १८.६ ओभरमा ११९ रनमा अलआउट भयो । १२० रनको लक्ष्य पाकिस्तानले भने भेटाउन सकेन । उसले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा ११३ रन बनायो ।

गत शुक्रबार भएको आयरल्याण्डविरुद्धको खेलमा क्यानडाले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा १३७ रन बनाएको थियो । १३८ रन पछ्याएको आयरल्याण्डले १२५ रन मात्रै बनायो ।

शनिबार भएको नेदल्याण्ड्स र दक्षिण अफ्रिकाको खेलमा पनि धेरै रन बन्न सकेन । नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १०३ रन बनायो । १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट क्षतिमा १८.५ ओभरमा पूरा गर्‍यो ।

सोमबार दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हराएको खेलमा पनि ११३ रन नै उच्च स्कोर थियो । ११४ रनको लक्ष्य पछ्याएको बंगलादेशले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा १०९ रन मात्रै बनाउन सफल भयो ।

अहिलेसम्मको खेल हेर्दा यो पिचको उच्च स्कोर पनि  १३८ छ ।

ड्रप-इन पिच

ड्रप-इन पिच पनि साधारण २२ यार्डको क्रिकेट स्ट्रिप जस्तै हुन्छ । यद्यपि, यसलाई स्टील पातामा तयार पारिएको हुन्छ । यसलाई परम्परागत शैलीमा मैदानमा नै तयार गरिँदैन ।

यसलाई अनुकूल वातावरणमा मैदान बाहिर वा टर्फ फार्ममा तयार गरिन्छ । यो पिचमा विभिन्न तहमा माटो र घाँस मिसाएर तयार पारिन्छ । जसलाई सीमित अवधिका लागि मिलाएर राखिन्छ ।

मैदानमा यो राखेपछि परम्परागत जस्तै ड्रप-इन पिचलाई पनि ध्यान दिइन्छ । जसअन्तर्गत नियमित रोलिङ, पानी दिने तथा खेलअगाडि घाँस काट्ने जस्ता सबै कार्य गरिन्छ ।

न्यूओर्कमा ड्रप-इन पिच बनाउनुको कारण

आइसीसीले सन् २०२१ मा विश्वकपको लागि हुने ठूलो भेन्यूको खोज सुरु गरेको थियो । यद्यपि, सन् २०२३ मा मात्र लङ आइल्याण्डस्थित आइसेनहोवर पार्कमा भएको नासाउ काउन्टी भेन्यू पक्का गरिएको थियो ।

विश्वकपका लागि छोटो समय बाँकी भएकाले आइसीसीले ड्रप-इन पिच बनाउने निर्णय गर्‍यो । तयार गरिएका १० ड्रप-इन पिचमध्ये ६ वटा अभ्यासका लागि क्यान्टियाग पार्कमा राखियो ।

एडिलेडटर्फ इन्टरनेशनलले सो वास्तविक टर्फको निर्माण गरेको थियो । सो कम्पनीले एडिलेड ओभलमा पनि ड्रप-इन पिच निर्माण गरेको थियो ।

न्यूयोओर्कमा भन्दा फ्लोरिडाको मौसम न्यानो र घमैलो भएकाले सन् २०२३ डिसेम्बरमा सबै ट्रेलाई फ्लोरिडा लगिएको थियो । डिसेम्बरदेखि मार्चको दौरान फ्लोरिडाको तापक्रम न्यून हुने गर्दछ ।

अप्रिलको अन्त्यमा पिच न्यूओर्क लगिएको थियो । मे महिनाको सुरुवातमा पिच मैदानमा राखिएको थियो ।

अन्तर्राष्ट्रिय खेल खेलाइनु अगाडि केही तयारी खेल तथा घरेलु खेल खेलाइने गरिन्छ । आयोजकले न्यूओर्कको पूरै स्टेडियम केवल १०६ दिनमा तयार गरेको थियो ।

विश्वकप सुरु हुनु २ दिन अगाडि भने यहाँ भारत र बंगलादेशको वार्म-अप खेल खेलाइएको थियो ।

अन्तर्राष्ट्रिय मान्यता दिन अगाडि आइसीसीको अनुगमन

कुनै पनि मैदानलाई अन्तर्राष्ट्रिय मान्यता दिन अगाडि आइसीसीले आफनो टोलीलाई निरीक्षण गर्न पठाउँछ । सो अध्ययन गर्दा आइसीसीले मैदान, पिचको अवस्था र अभ्यासको सुविधा पनि हेर्छ ।

आइसीसीले औपचारिक रूपमा न्यूओर्कको भेन्युलाई अन्तर्राष्ट्रिय मान्यता दिएको घोषणा नगरे पनि मे १५ मा भने विश्वकपको लागि भेन्युको रूपमा समावेश गरेको थियो ।

खेल तालिकाले पिचमा पारेको असर

ड्रप-इन पिचलाई अत्याधिक खेल खेलाउँदा पनि केही असर परेको देखिन्छ । अमेरिकामा तय भएका १६ खेलमध्ये ८ खेल न्यूओर्कमा खेलाइने छन् । यी सबै खेल १० दिनको अन्तरालमा हुँदैछन् ।

अन्तिम ६ खेल भने लगातार राखिएको छ । यसले पनि पिच क्युरेटरको टोलीलाई समस्यामा पारेको छ । किनभने क्युरेटरको टोलीले केवल एउटा टोलीलाई मात्र नभइ पूरै ४ वटा पिचको व्यवस्था गर्नुपर्ने हुन्छ ।

ड्रप-इन पिचमा देखिएको बाउन्सपछिको कारण

पिचको फुटेको भागमा केही घाँस उम्रेको, जसका कारणले पछिल्ला खेलमा बल बाउन्स भएको क्युरेटर टोलीले जनाएको छ । त्यस्तै बेला बेला हुने वर्षाका कारण पनि पिचमा केही असर परेको टोलीको आकलन छ ।

पिचमा भएको ओसका कारण बल स्वीङ भएको अनुमान गरिएको छ । क्यानडा र आयरल्याण्डको खेलअगाडि चिरा परेको भागलाई माटोले पुरेर रोलर चलाइएको थियो । सो खेलमा भारत र आयरल्याण्डभन्दा पिच केही फरक भएको खेलाडीले अनुभव गरेका थिए ।

अब न्यूओर्कमा केवल २ खेल बाँकी छ । जसमध्ये पाकिस्तान र क्यानडाको खेल आज सोमबार राति सवा ८ बजे हुँदैछ । अन्तिम खेलमा भने बुधबार अमेरिका र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यी बाँकी २ खेलमा ड्रप-इन पिचले ब्याट्सम्यान र बलर दुवैलाई कसरी चुनौती प्रस्तुत गर्छ भन्ने पक्कै पनि कौतहुलताको विषय हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved