काठमाडौं । नेकपा (माओवादी केन्द्र), गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले फणिन्द्र देवकोटा माओवादी केन्द्रकै सांसद रहेको दाबी गरेका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने प्रयोजनसहित जारी प्रदेशसभा बैठकमा भाग लिँदै नेता चुमानले यस्तो दाबी गरेका हुन् ।
“हाम्रो एकजना माननीय खै के-के भन्नुहुन्छ, तर गण्डकी प्रदेश माओवादी केन्द्रको संसदीय दलकै सदस्य नै हो उहाँ,” नेता चुमानले भने ।
अगाडि उनले भने, “यसपटक हामीले माननीय सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन सकिन्नँ । हामी सबै संसद्मा अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्ने भन्ने निर्णय भएको छ । ह्वीप जारी गरिएको छ, त्यो सबैलाई लाग्छ ।”
माओवादी केन्द्रको चुनाव चिह्न हँसिया-हथौडाबाट निर्वाचित सांसद देवकोटाले मुख्यमन्त्री पाण्डेलाई समर्थन गर्ने चर्चा छ । यहीबेला नेता चुमानले यस्तो बताएका हुन् ।
यदि देवकोटाले समर्थन नजनाए पाण्डे नेतृत्वको सरकार ढल्नेछ । मुख्यमन्त्री पाण्डेको दल नेपाली कांग्रेससँग २७ मात्रै सांसद छन् । त्यसमा देवकोटासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुई र स्वतन्त्र सांसद राजीव गुरुङसहित बहुमत पुर्याउने कोसिसमा मुख्यमन्त्री पाण्डे छन् ।
मुख्यमन्त्री पाण्डेको दल कांग्रेसका सांसदहरूले विश्वासको मत जुट्ने दाबी गरेका छन् ।
Facebook Comment
Comment