बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका लागि नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

नेपालभ्युज

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका लागि नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

बिम्स्टेक स्थापनाको २७ औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल सरकार र स्वयं आफ्नोतर्फबाट सदस्य राष्ट्रका सरकार र जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको उल्लेख गरेका छन् ।

सुदृढ क्षेत्रीय सहयोगका माध्यमबाट शान्त एवं समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गरी यो क्षेत्रका जनताका आकांक्षा पूरा गर्न स्थापित यो उपक्षेत्रीय संगठनले केही उल्लेखनीय उपलब्धि हासिल गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको प्रचण्डको बुझाइ छ ।

प्रधानमन्त्रीले संगठनको संस्थागत विकास प्रक्रिया बढाउन तथा बिम्स्टेक क्षेत्रका सबैको हितका निम्ति यसका तुलनात्मक लाभका क्षेत्र र विविध सामथ्र्यको उपयोगबाट आपसी सहकार्य र साझेदारीका साथै सहायता प्रवर्द्धनका लागि सहमति भएका क्षेत्रमा सङ्गठनले क्रमशः प्रगति गरेको उल्लेख गरेका छन् ।

व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संशाधन, पर्यटन, कृषि, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारका निम्ति सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासमा सघाउने बिम्स्टेकको लक्ष्य हो ।

सदस्य मुलुकहरूको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले बिम्स्टेकको स्थापना १९९७ मा स्थापना भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved