ओलीलाई सुमनाको जवाफ : यो हरेक नागरिकको सम्मानको समय हो

नेपालभ्युज

ओलीलाई सुमनाको जवाफ : यो  हरेक नागरिकको सम्मानको समय हो

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  फर्काएकी छिन् । बुधबार सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै  मन्त्री श्रेष्ठले ओलीलाई जवाफ फर्काएकी हुन् ।

उनले यो आफूहरूको समय भएको र जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय भएको बताएकी छन् । अध्यक्ष ओलीको विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्ने  टिप्पणीमा श्रेष्ठले भनेकी छन्, ‘भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले ‘नेपाल जान्छु र केहि गर्छु’ भन्नेहरूलाई निरुत्साहित हुनबाट जोगाउँछ ।’

‘देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिँदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ, उनले लेखेकी छन् ।’

उनले महिलालाई हेर्ने मानसिकता विकराल रहेको भन्दै झनै बढी प्रहार हुने गरेको समेत उल्लेख गरेकी छन् ।

यस्तो छ सुमनाको स्टाटस

विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठुलो सङ्ख्यामा युवाहरू विदेशमा छन् ।

आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।

कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै संवृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।

तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनुन् भन्ने अभीष्ट राख्दा रहेछन् । यो “तँ बसेर आएको देश हो र नेपाल पो हो” भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुँदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेसाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दा रहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुने रहेछ, उनीहरूको सीप र लगनले पोखरी नै ठुलो हुन सक्ने देख्दैनन् ।

महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । “समाजको नियम” भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुने रहेछ, यही भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भई हाल्छ? अहिलेसम्म पुस्तौँदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।

यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरुद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले “नेपाल जान्छु र केहि गर्छु” भन्नेहरूलाई निरुत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिँदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved