कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

नेपालभ्युज

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले दिगो विकास राखेर नीति तथा कार्यक्रम ल्याएको बताए ।

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको संवैधानिक मार्गदर्शन, समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय सोच र समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना पूरा गर्न सरकार प्रतिबद्ध रहेको प्रमुख परियारले जानकारी दिए ।

‘यसका लागि प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाइएको छ । कर्णालीवासीको विकास र समृद्धिको तीव्र आकांक्षालाई सम्बोधन गर्न वर्तमान संरचना र कार्यप्रणालीमा क्रमशः गुणात्मक सुधार गर्दै लगिएको छ ।’ उनले भने, ‘प्रदेश सरकारको कार्य जिम्मेवारीमा पर्ने विषयहरूमा थप कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको छ ।’

निजामती सेवा, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन लगायतका महत्वपूर्ण कानून निर्माण भई कार्यान्वयनमा ल्याइएको र विपद्को समयमा सरकारको उपस्थिति र सक्रियतालाई आत्मसात् गर्दै भूकम्प लगायतको विपद्को पूर्वतयारी, खोज, उद्धार, उपचार, राहत, पुनर्निर्माण तथा पुर्नस्थापनामा सरकारको भूमिकालाई थप प्रभावकारी बनाउँदै लगिएको परियारले बताए ।

‘कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र सेवारत सबैको सामूहिक विपद् दुर्घटना बीमा गरिएको छ ।’ उनले भने, ‘कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको छ ।’

मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् बेरोजगार युवालाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउन प्रदेशका सबै वडामा कर्णाली प्रदेश सरकारको उपस्थिति रहेको र विषयगत मन्त्रालयका कार्यक्रमलाई समेत रोजगार केन्द्रित बनाइएको उनले जानकारी दिए ।

‘सडक, पुललगायतका पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।’ उनले भने, ‘जनता आवास, विपन्न घर र एकीकृत बस्ती विकास लगायतका कार्यक्रममार्फत् आवासको हक कार्यान्वयनमा सहयोग पुगेको छ ।’

कृषिमा व्यावसायिकरण, कृषि तथा वन पैदावारमा आधारित उद्योग स्थापना र सञ्चालनलाई प्रोत्साहन गरिने र रैथाने बाली संरक्षण र उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरिएको परियारले बताए ।

‘अर्गानिक प्रदेश र कृषिमा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रम सञ्चालनमा रहेका छन् ।’ उनले भने, ‘समुदायमा आधारित वन संरक्षण तथा व्यवस्थापन मार्फत वनमा आश्रित गरिब तथा विपन्न जनतालाई हरित रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमको सुरूवात गरिने छ ।’

सीप सिकेका युवालाई सामूहिक रूपमा वस्तु विकास गर्न वस्तु विकास प्रशिक्षण केन्द्रको स्थापना गरिने, प्रदेश अस्पताल तथा प्रदेश मातहत अन्य अस्पतालबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउँदै लगिने प्रदेश प्रमुख परियारले बताए ।

कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना कार्यान्वयन समीक्षाको आधारमा कर्णाली विकास र समृद्धिको लागि आगामी पाँच वर्षको दोस्रो पञ्चवर्षीय योजना निर्माणको अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

प्रदेश अस्पताललाई विशिष्टिकृत प्रेषण तथा शिक्षण अस्पतालको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधार र जनशक्तिको विकास गरिने प्रदेश प्रमुख परियारले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved