काठमाडौं । मधेस प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरू कोही पनि उपस्थित नभएपछि स्थगित गरिएको हो ।
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको थियो । तर बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव र उनी नेतृत्वको मन्त्रिपरिषद्का कोही पनि सदस्य उपस्थित भएका थिएनन् ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसद वीरेन्द्र सिंहले नियमावलीको व्यवस्था स्मरण गराएका थिए ।
‘प्रदेश सभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ३ नियम ६ को उपनियम ६ मा प्रदेश सभा बैठकमा सरकारको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था गरिएको छ । तर आजको बैठकमा सरकारको उपस्थिति देखिएन । त्यसैले आजको बैठक स्थगित होस् भन्ने माग गर्दछु’, उनले भनेका थिए।
त्यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।
बुधबारको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत लिने कुनै आधार देखिएको थिएन ।
आजै मुख्यमन्त्री यादवले प्रदेश सभा बैठक सार्नका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्त पनि गराएका थिए । पत्रमा अस्वस्थताका कारणले बैठकमा उपस्थित भई विश्वासको मत लिन असमर्थ रहेको जानकारी गराइएको थियो । उनले जेठ २८ गतेका लागि विश्वासको मत लिने कार्यसूची राख्न भनेका थिए ।
तर छलफलपछि सभामुख मण्डलले पहिल्यै तोकिएको मिति अनुसार बैठक सुरु गरेका थिए ।
मुख्यमन्त्री नेतृत्वको दल जसपा नेपाल गत वैशाख २२ मा विभाजन भएको थियो । संविधानमा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आजै विश्वासको मत नलिए नयाँ मुख्यमन्त्रीका लागि आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख कार्यालय छ ।
अर्कोतिर, एमाले र माओवादी केन्द्रले वैशाख ३० मा सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएका थिए । एकीकृत समाजवादीले पनि मंगलबार (जेठ २२) सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको छ ।
मुख्यमन्त्री यादवले यसअघि चार पटकसम्म विश्वासको मत पाइसकेका छन् । पाँचौं पटक भने विश्वासको मत नपाउने निश्चित प्रायः छ । मत नपाउने भएपछि उनले बैठक सार्ने रणनीति लिएको भन्दै आलोचना भइरहेको छ ।
Facebook Comment
Comment