काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवस, २०२४ को अवसरमा सरोकारवाला सबैमा शुभकामना व्यक्त गरेका हुन् ।
“मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको छ ।”
साथै, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरुरी रहेको उल्लेख छ ।
यस वर्ष विश्वव्यापीरूपमा तय भएको नारा ‘हाम्रो भूमि : हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस देशव्यापीरूपमा मनाउन लागिएकोमा सरोकारवाला निकाय, संघसंस्था तथा आम नागरिकलाई राष्ट्रिय अभियानमा सरिक हुन प्रधानमन्त्री दाहालले आह्वान गरेका छन् ।
Facebook Comment
Comment