राष्ट्रिय सभामा रहेका अर्थमन्त्रीको प्रतिनिधि सभामा खोजी भएपछि बैठक स्थगित

नेपालभ्युज

राष्ट्रिय सभामा रहेका अर्थमन्त्रीको प्रतिनिधि सभामा खोजी भएपछि बैठक स्थगित
फाइल फोटो

काठमाडौं । जेठ १५ गते प्रस्तुत भएको बजेट वक्तव्यमाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल चलिरहेको छ । सांसदहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

मंगलबारको बैठकमा सुरुवातमा प्रतिनिधि सभामा रहेका अर्थमन्त्री बर्षमान पुन पछि राष्ट्रिय सभा बैठकतिर गए । तर बजेटमाथि धारणा राख्न रोस्ट्रममा पुगेका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अर्थमन्त्रीको खोजी गरे ।

रोस्ट्रममा पुग्नासाथ उनले सोधेका थिए- सभामुख महोदय, मेरो आँखाले देखिरहेको छैन कि अर्थमन्त्री कता हुनुहुन्छ ? कसले सुनिदिनुहुन्छ त मेरो कुरा ?

सभामुखको भूमिका निर्वाह गरिरहेकी उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभामा भएको जानकारी गराइन् । तर लिङ्देनले अर्थमन्त्रीको खोजी जारी राखे । उनले अर्थमन्त्री हुनैपर्ने तर्क गरे । उनले अर्थमन्त्रीलाई बोलाउन आग्रह गरे ।

सभामुखको भूमिकामा रहेकी रानाले भनिन्, ‘अर्थमन्त्री राष्ट्रिय सभामा जवाफ दिन जानुभएको छ । सरकारको प्रतिनिधिको रुपमा खानेपानी मन्त्री सदनमा हुनुहुन्छ । अगाडि बढौँ माननीयज्यू ।’

तर लिङ्देनले भने अर्थमन्त्री नै चाहिने जिकिर गरे । ‘खानेपानी मन्त्रीले म सक्छु भन्नुभयो भने ठीक छ’, उनले थपे, ‘एकछिन ब्रेक गरौँ । अर्थमन्त्री खालि हुनुभएपछि सुरु गरौँ । त्यसो गरौँ ।’

रानाले भने अगाडि बढ्न आग्रह गरिरहिन् । लिङ्देनले भने अर्थमन्त्री आएपछि आफ्नो सम्बोधन सुरु गर्ने र आफू उभिन सक्ने बताए ।

रानाले सम्बोधन जारी राख्न र लिङ्देनको समय थप्ने वाचा गरिन् । तर लिङ्देनले अर्थमन्त्री आएपछि मात्रै समय सुरु हुने हो भने मात्रै आफू अगाडि बढ्ने बताए । रानाले अर्थमन्त्री टुक्का, कोटेसन भन्न समेत सुझाइन् । तर लिङ्देनले अर्थमन्त्री नै चाहिने अडान छोडेनन् ।

यसैबीच सत्ता पक्षका एक जना सांसद उठे । उनलाई रानाले समय दिइन् । उनले संसद् हो कि दोहोरी हो ? भन्दै आफ्नो सम्बोधन सुरु गरे । सदनको मर्यादा राख्न सुझाउँदै भने, ‘बोल्न गएपछि सरासर बोल्नुपर्छ । सभामुखसँग दोहोरी लेख्नुहुँदैन ।’

यतिञ्जेल राप्रपाका सांसदहरू उठेर होहल्ला सुरु गरिसकेका थिए । सभामुखको कुर्सीमा पनि सभामुख देवराज घिमिरे आइसकेका थिए ।

उनले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई समय दिए ।

शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेता बोलिरहेको र अर्थमन्त्री खोजिरहेको भन्दै दोहोरी भन्न नमिल्ने बताए । ‘नियमावली पढेर आउनुपर्छ’, उनले भने, ‘बजेटमा छलफल भइरहँदा अर्थमन्त्री चाहिन्छ ।’

सभामुखले लिङ्देनलाई पनि आसन ग्रहण गर्न आग्रह गरे । लिङ्देन आफ्नो आसनतर्फ फर्किए ।

त्यसपछि सभामुखले भने, ‘राष्ट्रिय सभा र प्रतिनिधि सभा एउटै समयमा चलिरहँदा यस्तो समस्या पहिले पहिले पनि आउने गरेको थियो । अर्थमन्त्रीले समय मिलाउँदा मिलाउँदै पनि त्यस्तो हुन पुग्यो । उहाँ राष्ट्रिय सभामा हुनुहुन्छ । लगत्तै यहाँ आएपछि हामी १५ मिनेटपछि बैठकलाई सुचारु गर्नेछौँ । १५ मिनेटका लागि बैठक स्थगित गरिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved