सोलुखुम्बुको पर्यटकीय स्थल पहिचान र प्रवर्द्धन गर्न सांसद शेर्पाको माग

नेपालभ्युज

सोलुखुम्बुको पर्यटकीय स्थल पहिचान र प्रवर्द्धन गर्न सांसद शेर्पाको माग

विराटनगर । कोशी प्रदेश सभाका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले हिमाली जिल्ला सोलुखुम्बुको पर्यटकीय स्थलहरूको पहिचान र प्रवर्द्धन गर्न माग गरेका छन् ।

मङ्गलबार प्रदेश सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै सांसद शेर्पाले यस्तो बताएका हुन् । नीति तथा कार्यक्रममा प्रदेशभित्रका पर्यटकीय स्थलहरूको पहिचान तथा प्रवर्द्धन गर्ने भनिएको भएपनि सोलुखुम्बु जिल्लाको नसमेटिएको भन्दै उनले समेट्न भनेका हुन् ।

“पर्यटकीय स्थलहरूको पहिचान र प्रवर्द्धन गर्ने भनिएको छ तर, सोलखुम्बुको समेटिएको पाइएन । सोलुखुम्बुमा मेरापीक, पाँचपोखरी, साल्पा, दूघकुण्ड, पीके, लामाजुरा, डाँडाखर्क, थुप्तेन छोलिङ गुम्बा, पञ्चकन्या, देवीस्थानलगायतका महत्त्वपूर्ण पर्यटकीय स्थलहरू छन्,” सांसद शेर्पाले भने, “ती स्थलहरू छुट्नुहुन्न ।”

यस्तै सांसद शेर्पाले हिमाल-पहाडबाट हुने बसाइँसराइमा प्रदेशसँगै सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने बताए । त्यसका लागि त्यहाँका पूर्वाधार र सुविधामा ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।

“यदि यसैगरी बसाइँ सर्ने क्रम चल्यो भने एकदेखि दुई दशकभित्र हिमाल र पहाड रित्तिन्छन् र प्रदेश, देश हुँदै विश्वकै पारिस्थितिक प्रणाली बिग्रन्छन् । यसमा सरकार र सम्बद्ध पक्षले ध्यान दिऊन्,” उनले भने ।

सांसद शेर्पाले नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर नहोस् भन्दै खबरदारी गरेका छन् । “नीति तथा कार्यक्रम जुन रूपमा आएको छ, बजेट पनि त्यही रूपमा आओस् । यदि बजेट र नीति तथा कार्यक्रममा एकरूपता भएन भने हुँदैन,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved