पैतृक सम्पत्तिमा समान अधिकारबारे धेरैलाई जानकारी नै छैन : मन्त्री चौधरी

नेपालभ्युज

पैतृक सम्पत्तिमा समान अधिकारबारे धेरैलाई जानकारी नै छैन : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानुनले सम्बोधन गरे पनि यस विषयमा धेरैलाई जानकारी नभएको बताएकी छन् ।

राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा बिहीबार राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले तल्लो तहमा यस विषयमा अझै जानकारी नभएको बताएकी हुन् । उनले भनिन्, “आफ्नै दाजुभाइसँग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर धेरै महिलाले सम्पत्ति दाबी गरेका छैनन् । जबकी यो हामी सबैको समान अधिकार हो ।”

यी विषयमा वकालत गर्न जरुरी भएको र महिला अधिकारका लागि एकजुट हुन आवश्यक रहेको उनले बताईन् । “हामीसँग अहिले सात सय ५३ पालिकाहरू छन् । महिला विकास अधिकृतहरू स्थानीय तहमा गाभिए तर अहिले महिला मन्त्रालयको संरचना स्थानीय तहमा नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको छ”, उनले भनिन् ।

अहिलेसम्म निर्माण भएका ऐन, कानुन कार्यान्वयनको अवस्था समीक्षा गर्दै आगामी योजनासहित अगाडि बढ्नुपर्ने मन्त्री चौधरीको भनाइ छ । अहिले बाल विवाहको अवस्था विकराल बन्दै गएकाले न्यूनीकरणका निम्ति उनले अभियान सञ्चालन गर्न आवश्यक रहेको बताईन् । अप्ठ्यारोमा, हिंसामा परेका महिलाका निम्ति राज्यले उनीहरूको सुरक्षा गर्न ‘सेल्टर हाउस’ बनाउन आवश्यक रहेको मन्त्री चौधरीले बताईन् । त्यसका निम्ति बजेट व्यवस्था गर्न लागि परेपनि न्यून बजेट प्राप्त भएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved