पशुपतिको भेटी चोर्न कोषाध्यक्षले अह्राएको पक्राउ परेकाको बयान, कर्मचारी खटाएर हजारौँ रुपैयाँ दिनहुँ गोजीमा हाल्थे

नेपालभ्युज

पशुपतिको भेटी चोर्न कोषाध्यक्षले अह्राएको पक्राउ परेकाको बयान, कर्मचारी खटाएर हजारौँ रुपैयाँ दिनहुँ गोजीमा हाल्थे

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको गिद्दे नजर परेको खुलेको छ । भेटी चोर्दै गरेको अवस्थामा पक्राउ परेका कर्मचारीले चोरी गरेको रकम कोषाध्यक्ष सुवेदीलाई बुझाउने गरेको आरोप लगाएका  छन्।

पक्राउ परेका कर्मचारी अनिल परियारले सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको दाबी गरेका  हुन् । पक्राउ परेका परियारले कोषाध्यक्ष सुवेदीले नै आफूहरूलाई पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान दिएका छन् ।

परियारले दैनिक तीन हजारदेखि १५ हजारसम्म चोर्ने गरेको बयान प्रहरीसमक्ष दिएका छन् । सुवेदीले आर्थिक नियमावलीविपरीत बाजा बजाउने कर्मचारीलाई भेटी संकलन गर्न खटाउनुले पनि उनको नियतमाथि प्रश्न उठेको छ ।

पशुपतिमा भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको थियो ।

प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी पाएपछि सीसीटीभीको निगरानीमा राखिएको बताए । सीसीटीभीको निगरानीका क्रममा चोरी कार्यमा संलग्नको पहिचान भएपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको थियो ।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved