काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने बताएका छन् । शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले सत्ता समीकरण सुविधाजनक बहुमतमा भएको बताएका हुन् ।
उनले प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिन प्रतिनिधि सभामा पत्राचार गरेको भन्दै प्रधानमन्त्रीले सुविधानजनक बहुमतका साथ विश्वासको मत पाउने बताए । उनले सरकारले अध्यादेशमा बजेट ल्याउने नसोचेको भन्दै मुलुक अध्यादेशमा जान्छ जाँदैन भन्ने कुरा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा निर्भर भएको बताए । उनले सहकारी समस्याको सन्दर्भमा कुनै खास व्यक्तिलाई केन्द्रित गरेर छानविन समिति बनाउन सत्तापक्ष सहमत नभएको स्पष्ट पारे ।
‘मलाई विश्वास छ कि आज र भोलिका संवादहरुले नेपाली कांग्रेस आफ्नो हठबाट पछाडी हट्ने छ र हामी सत्तापक्ष पनि केही लचकताका साथ प्रस्तुत हुन्छौँ । हाम्रो भनाई त्यही छ, कुनैपनि समस्याको समाधान गर्न समितिहरु बन्न सक्छन् तर निश्चित व्यक्तिलाई केन्द्रीत गरेर समिति बन्ने कुरा त्यो संसदीय अभ्याससँग मिल्दोजुल्दो कुरा होइन’ उनले भने, ‘समग्र सहकारीको अध्ययन गर्न समिति बन्न सक्छ । त्यसमा हामी लचक छौँ । व्यक्तिमा केन्द्रित गर्ने भन्ने नेपाली काँग्रेसको कुरामा सहमत हुन सक्दैनौँ ।’
सांसद भट्टराईले आईतवारसम्ममा नेपाली कांग्रेस आफ्नो हठबाट पछि हट्ने विश्वास व्यक्त गरे ।
Facebook Comment
Comment