काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताएका हुन् । उनले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालय अन्तर्गत प्रहरी कर्मचारीको निवृत्तिको समयलाई पुनरावलोकन गर्ने र बढुवा अनुमानयोग्य बनाउने कुरा नयाँ भएको बताए । उनले खुला कारागारको कुरा पनि नयाँ भएको बताए ।
गृहमन्त्री लामिछानेले नीति तथा कार्याक्रम कार्यान्वयनमा गएपछि मात्रै थप भन्न सकिने प्रतिक्रिया दिए ।
‘नयाँ कयौँ कुरा आएका छन् । शिक्षा, श्रम, खानेपानी, कानून मन्त्रालयमा तपाई हेर्न सक्नुहुन्छ । गृहमा हामीले सबै तहका प्रहरी कर्मचारीहरुको सेवा निवृत्त समयलाई पुनरावलोकन गर्ने कुरा आयो । अनुमानयोग्य बढुवाका कुरा नयाँ आएको छ’ उनले भने, ‘ खुला जेल जहाँ श्रम गर्न सकिने, उद्योग गर्न सकिने कुरा आएका छन् । कतिपय पुराना कुराको निरन्तरता छ । तर धेरै नयाँ कुराहरु आएका छन् ।’
संसदको रमिता कहिले हट्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लामिछानेले कांग्रेसलाई सोध्नुपर्छ भन्ने जवाफ दिए ।
Facebook Comment
Comment