काठमाडौं । सम्बन्धमा तिक्तता आइरहेको बेलामा भारतले माल्दिभ्सलाई ५ करोड डलर सहयोग गर्ने निर्णय गरेको छ ।
माल्दिभ्सको विदेश मन्त्रालयका अनुसार यो सहयोग ५ करोड डलरको ट्रेजरी बिलको रोलओभरको रूपमा रहेको छ । यो मालेस्थित भारतीय स्टेट बैंक मार्फत माल्दिभ्समा उपलब्ध गराइनेछ।
यसअघि माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरले भारतीय समकक्षी एस जयशंकरलाई सहयोग जारी राख्न आग्रह गरेका थिए । जमीर मे ८ देखि १० सम्म भारत भ्रमणमा थिए ।
माल्दिभ्सले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ, ‘सरकारले बजेट समर्थनको रूपमा माल्दिभ्सलाई प्रदान गरिएको उदार सहयोगको प्रशंसा गर्दछ।’
माल्दिभ्समा नयाँ सरकार बनेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता आएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले माल्दिभ्सबाट सबै भारतीय सैनिक फिर्ता पठाएका छन् ।
मुइज्जुले आफ्नो चुनावी अभियानमा इन्डिया आउटको नारा दिएका थिए । भारत र माल्दिभ्सबीच कूटनीतिक तनाव पनि बढेको छ । यो परिवेशमा भारतले माल्दिभ्सलाई आर्थिक सहयोग जारी राख्ने निर्णय गरेको हो ।
Facebook Comment
Comment