के राष्ट्रपतिले शीतल निवासबाटै नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ?

जेठ १ अर्थात् भोलि सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने संसद्‌को अवरोध कायम नै राख्ने निर्णय गरेको छ ।

नेपालभ्युज

के राष्ट्रपतिले शीतल निवासबाटै नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् ?

काठमाडौं । जेठ १ अर्थात् भोलि सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने संसद्‌को अवरोध कायम नै राख्ने निर्णय गरेको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने (Rabi lamichhane) माथि उच्चस्तरीय संसदीय छानबिन समिति नबनेसम्म संसद्‌को अवरोध कायम राख्ने निर्णय कांग्रेसको छ ।

यसपछि नीति तथा कार्यक्रम सार्वजनिक कसरी गर्ने भन्ने प्रश्न जन्मिएको छ । यस सम्बन्धमा कतिपय समाचारमा ‘सरकारले शीतल निवासबाटै नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको’ भन्ने जनाइएका छन् ।

समाचारहरूमा राष्ट्रपति पौडेल (Ramchandra paudel) को सुरक्षा र उनीविरुद्ध हुनसक्ने मानमर्दनलाई दृष्टिगत गरेर शीतल निवासबाटै नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको जनाइएको छ । तर, त्यस्तो तयारी नगरेको सरकार पक्षको दाबी छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले भने, “अहिलेसम्म त्यसखाले कुनै सल्लाह वा छलफल भएको छैन । तयारी त झन् कहाँबाट हुनू । त्यस्तो होइन ।”

तर, उनले कांग्रेसले संसद् अवरोध खुलाउनुपर्ने बताए । “कांग्रेस जस्तो लामो लोकतान्त्रिक इतिहास भएको पार्टीले त्यस्तो अपरिपक्व कदम चाल्दैन कि भन्ने लाग्छ । उसले सदन अवरुद्ध गर्नुहुँदैन,” उनले भने ।

राष्ट्रपति पौडेलका सल्लाहकार पनि त्यस्तो तयारी नरहेको बताउँछन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले नेपालभ्युजसँग भने, “त्यस्तो तयारी भएको छैन । कहाँबाट आयो त्यो सूचना, त्यस्तो तयारी भएको मलाई थाहा छैन ।”

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापा पनि त्यस्तो तयारी नरहेको बताउँछन् । आफू धनकुटा रहेको उल्लेख गर्दै आफूलाई त्यस्तो जानकारी प्राप्त नभएको बताउँछन् । “त्यस्तो तयारी भएको भए त मकहाँ पनि जानकारी आउँथ्यो होला । त्यस्तो थाहा छैन,” उनले भने ।

त्यसो त अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति सरकारी निवासबाट सार्वजनिक गरिएको रेकर्ड छैन । त्यो अभ्यास नै छैन ।

सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद् भवन नयाँ बानेश्वरबाट दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्यहरूसमक्ष राष्ट्रपतिबाट सार्वजनिक गरिन्छ । तर, यसपटक भने दुवै सदनमा कांग्रेसको अवरोध गरिरहेको छ । गत वैशाख २८ गते पनि कांग्रेसले नै विरोध गरेपछि एकैपटक १ गतेका लागि डाकिएको हो ।

उसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा दोषी भएको यथेष्ट प्रमाण रहेको र उनीमाथि कुनै पनि हालतमा छानबिन समिति बन्नुपर्ने अडान कसेको छ । कांग्रेसले नीति तथा कार्यक्रमको बेला पनि अवरुद्ध गर्ने चेतावनी दिइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने सोमबार साँझसम्म कांग्रेससँग समझदारी बन्ने दाबी गरेका छन् । आइतबार कांग्रेसका शीर्षस्थ नेताहरूसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले समझदारी जुट्ने दाबी गरेका हुन् ।

सभामुख देवराज घिमिरेले पनि कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री लामिछानेलाई राष्ट्रपति संसद् पस्नुअगावै सहमति जुटाउन सल्लाह दिएका छन् तर, सहमति जुटिहाल्ने अवस्था भने छैन ।

यदि सहमति जुटेन र संसद्‌‌मा कांग्रेसको अवरोध नहटे के गर्ने भन्नेबारे नेताहरूबीच छलफल भएको बताइएको छ । त्यसमा नेताहरूले दोस्रो विकल्पबारे पनि सोच्नुपर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved