भारतमा ‘दाइजोका कारण’ दुलहीको शङ्कास्पद मृत्यु र त्यसको डरलाग्दो बदला

नेपालभ्युज

भारतमा ‘दाइजोका कारण’ दुलहीको शङ्कास्पद मृत्यु र त्यसको डरलाग्दो बदला
अंशिका र अंशु केसरवानी

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको प्रयागराज सहरमा यस्तो भयानक दुर्घटना घट्यो, जसमा दुई परिवार उजाडिएको छ । जसमा तीन जनाको मृत्यु भएको छ भने सात जना जेल गएका छन् ।

घटना मार्च १८ को हो । जुन प्रयागराज (इलाहाबाद)का दुई मध्यम वर्गीय परिवारबीचको लडाइँ हो । शिवानी केसरवानी भन्छिन्, ‘त्यसदिन रातको ११ बजेको हुनुपर्छ, ६०-७० जनाले हाम्रो घरमा हमला गरे । उनीहरूले हामीलाई निकै निर्ममतापूर्वक कुट्न थाले ।’

शिवानी थप भन्छिन्, ‘आक्रमणकारीहरू दाइ अंशुकी श्रीमती अंशिकाका परिवारका सदस्य र आफन्त थिए।’ आक्रमणको केही घण्टाअघि अंशिका घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

शिवानी र प्रहरीले अंशिकाले आत्महत्या गरेको बताएको छ । तर, अंशिकाका परिवार र छिमेकीले उनको दाइजोका कारण हत्या भएको आरोप लगाएका छन् ।

केसरवानी परिवारको दाउराको व्यवसाय छ । र, उनीहरू संयुक्त परिवारमा बस्छन् । उनको घरको भुइँ तल्ला र बेसमेन्टमा पसल र गोदाम थियो । केसरवानीको परिवार माथिल्लो तलामा बस्थे।

घरको हरेक तलामा एउटा सुत्ने कोठा थियो । एक वर्षअघि विवाह गरेपछि अंशु आफ्नी श्रीमतीसँग माथिल्लो तलामा बस्दै आएका थिए । उनका बाबुआमा घरको पहिलो तलामा र बहिनी शिवानी दोस्रो तलामा बस्ने गर्दथिन् ।

त्यो रातको बारेमा शिवानीले भनिन्, ‘अंशिका (भाउजु) प्रायः राती आठ बजे आफ्नो बेडरूमबाट डिनर गर्न आउँनुहुन्थो । तर, त्यो रात डिनरको लागि उहाँ आउनु भएन, त्यसैले हामीले सोच्यौ‌ं कि उहाँ निदाउनु भयो  होला ।’

शिवानीका अनुसार उनका दाइ राति १० बजे पसलबाट घर फर्किएपछि श्रीमतीलाई बोलाउन कोठामा गए ।

शिवानी भन्छिन्, ‘दाइले धेरै पटक ढोका ढकढकाउनु भयो । मोबाइलमा फोन गर्नुभयो । तर, कुनै जवाफ आएन । त्यसपछि उहाँले कोठाको सिसाको झ्याल तोडेर हेर्दा  अन्शिका झुण्डिएको देख्नु भएछ । दाइ चर्को स्वरले चिच्याउनु भयो । चिच्याहट सुनेर हामी सबै माथितिर दौडियौं ।’

अंशु र उनका काकाले तुरून्तै आफ्नो घरबाट आधा किलोमिटर टाढा रहेको नजिकैको प्रहरी चौकीमा अंशिकाको मृत्युको खबर दिए । अंशिकाको परिवारलाई पनि यो दुर्घटनाबारे जानकारी गराइयो ।

खबरपछि अन्शिकाको परिवार दर्जनौं आफन्तसहित घटनास्थलमा पुगे । त्यसपछि दुई परिवारबीच चर्को झगडा भएको पाइएको स्थानीय प्रहरीले जनाएको छ ।

शिवानीले आफ्नो मोबाइल फोनमा भिडियोहरू देखाइन्, जसमा दुवै पक्षका मानिसहरू एकअर्कालाई चिच्याइरहेका थिए र काठको डण्डीले कुटिरहेका थिए।

भिडियोमा दुवै पक्षको बीचमा एक प्रहरी पनि उभिएको देखिन्छ, जसले दुवै पक्षलाई शान्त गराउन असफल प्रयास गरिरहेको छ । अंशिकाको शव घर बाहिर निकाल्दा उनका परिवारका सदस्यले घरमा आगो लगाएका थिए ।

घरको भुइँ तल्ला र बेसमेन्टमा राखिएको काठमा आगलागी लागेपछि शिवानी, उनका आमाबुवा र काकी त्यहाँ फसे। शिवानी र उनकी काकी दोस्रो तलाको झ्याल तोडेर छिमेकीको घरमा पसे, जुन उनको काकाको थियो । तर, शिवानीका बाबुआमा त्यति भाग्यमानी थिएनन् ।

दमकलको टोली तीन घण्टाको प्रयासपछि आगो निभाउन सफल भएको थियो । त्यसपछि राति करिब ३ बजे भवनभित्र पसेपछि शिवानीका बुढा आमाबुवाको जलेको शव फेला परेको थियो ।

आफ्नो आँसु पुछ्दै शिवानी भन्छिन्, ‘मैले मेरी आमालाई सिँढीमा बसिरहनुभएको पाएँ । उनीहरूलाई बोरामा हालेर पोस्टमार्टमका लागि लगिएको थियो ।’

प्रहरीमा दर्ता गरेको उजुरीमा शिवानीले अंशिकाको परिवारका १२ सदस्यविरूद्ध उजुरी दिएकी छन् । यसबाहेक ६०–७० अज्ञात व्यक्तिविरूद्ध पनि मुद्दा दायर गरिएको छ ।

घटनापछि अंशिकाका बुवा, काका र छोरासहित कुल सात जनालाई पक्राउ गरिएको एक प्रहरी अधिकारीले बीबीसीलाई बताए । उनीहरू सबै अझै जेलमा छन् ।

अंशिकाका बुबाले पनि काउन्टर उजुरी दिएका छन्, जसमा उनले अंशु, उनका बाबुआमा र उनका दिदीबहिनीले दाइजोको लागि आफ्नी छोरीलाई उत्पीडन गरेको र उनको हत्या गरेको आरोप लगाएका छन्।

शिवानी आफ्नो परिवारमाथि लागेको आरोप अस्वीकार गर्छिन् । तर, बिहेका बेला अन्शिकाको परिवारबाट धेरै सामान पाएको उनी स्वीकार्छिन् । यसमा एउटा कार पनि समावेश थियो।

‘उहाँले जे दिनुभयो, छोरीलाई दिनुभयो,’ उनी भन्छिन्, ‘हामीले उहाँसँग केही मागेका थिएनौं।’

श्रीमतीको मृत्यु भएको रातदेखि अंशु घर फर्केका छैनन् । शिवानी भन्छिन्, ‘अन्शिकाका अधिकांश आफन्त जेलबाट बाहिर भएकाले उनीहरू लुकेर जीवन बिताइरहेका छन्। यस्तो अवस्थामा मेरो भाइलाई आफ्नो ज्यान खतरामा परेको महसुस हुन्छ ।’

शिवानी अहिले आफ्नो घरको छेउमा काकाको परिवारसँग बस्छिन्।

(बीबीसी हिन्दीबाट) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved