सामाजिक सञ्जालहरू हेर्यो, आफ्नो देशको समाचारहरूले मन नै चसक्क घोच्छन् । दिनभर काम गरेपछि साँझमा सुस्ताएको बखत सामाजिक सञ्जालहरू स्क्रोल गर्छु, एकपछि अर्को छरपस्ट समाचारहरूले मन नै बेचैन बनाइदिन्छ ।
कहिलेकाहीँ त सामाजिक सञ्जालबाटै टाढा बसुँ पनि लाग्छ तर, डिजिटल एरामा पनि किन ? भनेर आफैँलाई प्रश्न गर्छु । फेरि चटक्कै छाडिहाल्न पनि त सकिँदैन ! फेरि उसैगरी स्क्रोल गर्ने क्रम जारी रहन्छ, फेरि त्यस्तै समाचारहरू ठोक्किन आइपुग्छन् । यसरी ठोक्किन आएर मन नै बेचैन बनाउने समाचारहरूमध्ये हिजोआज सवारी दुर्घटनाका बढी छन् ।
केही दिनअघि मात्रै हुनुपर्छ, भोजपुरतिर चल्ने जीप दुर्घटना भयो, जहाँ एक बच्चासहित थुप्रै यात्रुले ज्यान गुमाए । यो एउटा प्रतिनिधि घटना मात्रै हो, यस्ता घटनाहरू नेपालमा हिजोआज दैनन्दिन भइरहेका छन् । जुन समाचारहरू मसम्म आइपुग्छन् ।
यसपछि मलाई लाग्यो, यसबारे केही लेखौँ । म विश्वकै उत्कृष्ट सवारी साधन उत्पादन हुने देश जापानमा विगत ५ वर्षदेखि छु । विगत २ वर्षयता त म आफैँ सवारी साधन निरीक्षण तथा मर्मत मेक्यानिकको रूपमा कामसमेत गरिरहेको छु । सारमा यो लेख लेख्नुको कारण दुर्घटना न्यूनीकरणका लागि जापानमा के-कस्ता उपायहरू अपनाइएका छन्, यसबारे जानकारी दिनु हो ।
पछिल्लो समय नेपालको सन्दर्भमा सवारी साधन दुर्घटना हुनु सामान्य घटनाजस्तै बनिसकेको छ । यसरी बढिरहेको सवारी दुर्घटनाबाट लाखौं मान्छेहरू अकालमै मरिरहेका छन् । धेरैले धेरै श्रीमान्-श्रीमती, छोरा-छोरी, दाजु-भाइ, इष्ट-मित्र तथा आफन्तहरू गुमाएका छन् ।
अरु त अरु; उमेर पुगेर मरेकाहरूको दाहसंस्कारबाट फर्किएकाहरू नवजवानहरू सवारी दुर्घटनामा मरेका छन् । यस्ता दुर्घटनाहरूले झनै भावविह्वल नै बनाउँछ ।
यस्ता भयावह दुर्घटनाहरू न्यूनीकरणका लागि के गर्ने ? यसबारे बहस भने हुँदैन । दुर्घटना कम गर्न न सरकारी पक्षबाटै कुनै नीति तथा कार्यक्रम ल्याइन्छ, न सम्बन्धित निकायहरूले नै केही गर्छन् । दुर्घटना हुन्छ, केही मान्छेहरू मर्छन् र कुरै खत्तम ! सवारी दुर्घटनाको वर्तमान नेपाली ‘सिनारियो’ ठ्याक्कै यही नै हो ।
सवारी दुर्घटनाको ग्राफ दैनन्दिन बढ्दो छ । गत असारमा प्रकाशित प्रहरीको तथ्याङ्कअनुसार नेपालमा दैनिक सरदर ३७ वटा सवारी दुर्घटना हुन्छन्, जसमा दैनिक ७ जनाको मृत्यु र ४० घाइते हुन्छन् । अर्थात् वर्षमा सरदर १३ हजारभन्दा बढी सवारी दुर्घटना हुन्छन् र २५ सयभन्दा धेरैको मृत्युवरण गर्छन् । त्यही तथ्याङ्कअनुसार १४ हजारभन्दा धेरै घाइते भएर बाँच्छन् ।
यसरी सवारी दुर्घटना बढ्नुमा एउटा मात्रै कारण छैन, त्यहाँ अनेकन् कारणहरू हुनसक्छन् । मुख्य त सवारी साधनको अवस्था, सवारी चालकको कमजोरी, सडकको स्तर, मौसमलगायतका हुन् । नेपालमा दुर्घटना बढ्नुमा पनि यी नै ‘फ्याक्टर्स’हरूले काम गरेका छन् ।
तर, जापानमा जापान राष्ट्रिय प्रहरी एजेन्सीले गत पुसमा निकालेको दुर्घटनाअनुसार नेपालको दाँजोमा धेरै गुणा कम दुर्घटना हुन्छन् । सन् २०२३ भित्र भएको सवारी दुर्घटनामा २ हजार ६ सय ७८ जनाले मात्रै ज्यान गुमाएका छन् । नेपालमा तीन करोड पनि जनसङ्ख्या पुगेको छैन, जहाँ वर्षमा सरदर २५ सयभन्दा बढी व्यक्तिले सवारी दुर्घटनाकै कारण ज्यान गुमाउँछन् । यता जापानमा १३ करोड जनसङ्ख्या छ, वर्षमा २७ सय जनाले मात्रै ज्यान गुमाउने तथ्याङ्क छ ।
उसो त विकसित देश जापानसँग हाम्रो विकासोन्मुख देशलाई कुनै पनि हालतमा तुलना गर्न सकिन्न र मिल्दैन पनि । यद्यपि सवारी दुर्घटना कम गराउन विकसित देश जापानले के-कस्ता नीति, नियम तथा रणनितीहरू अपनाएको छ ? आउनुस् चर्चा गरौँ ।
सवारी चालक अनुमतिपत्रमा कडाइ
सामान्यतया जापानमा सवारी चालक अनुमति पत्र निकाल्ने प्रक्रिया एकदमै लामो र खर्चिलो छ, ट्राफिक नियमसम्बन्धीको सम्पूर्ण कक्षाहरू लिनुपर्ने हुन्छ । लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाहरू उतीर्ण गर्दै गएपछि मात्र अन्तिममा सवारी चालक अनुमति पत्र (लाईसेन्स) प्राप्त गर्न सकिन्छ ।
तर, हाम्रो देशमा त्यो देखिँदैन । लाईसेन्सको मुख्य कडी नै ट्रायललाई मानिन्छ । लिखित तथा ट्राफिक नियमसम्बन्धीको क्लासहरू फितलो छ, प्रयोगात्मक परीक्षा पास गर्नु मात्र मुख्य होइन, ट्राफिक नियम पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा जापानबाट सिक्नुपर्छ ।
अझ नेपालमा त ‘दलाली’हरूमार्फत समेत लाईसेन्स प्राप्त हुन्छ । सवारी धनीले राम्रोसँग चलाउन नजानीकनै लाईसेन्स प्राप्त भएपछि त्यहाँ त्यतिकै दुर्घटनाको जोखिम बढिहाल्यो । जापानको जस्तो एकीकृत, कडाइ र फेर रूपमा दिन सकियो भने त्यहाँ दुर्घटना कम हुने सम्भावना उसै कम हुन्छ ।
सवारी साधनको निरीक्षण र मर्मत
सवारी साधन प्रयोगकर्ताले आफ्नो सवारी साधनको समय-समयमा चेकजाँच, मर्मत तथा निरीक्षण गराउनुपर्ने हुन्छ जापानमा । जसका लागि सरकारले नियम नै लागू गरेको छ, सवारी साधनमा तोकिएको मापदण्डअनुसारको सरसमान तथा गाडीको अवस्था ठीक छ कि छैन; जस्तै सामान्यरूपमा बुझ्दा उक्त गाडीको ब्रेकको अवस्था कस्तो छ, टायर ठीक छ कि छैन, गाडीमा प्रयोग भएको ब्याट्री, लाईटहरू, गाडीको झ्याल तथा सिसा, ब्रेकप्याडहरू, ईन्जिन तेललगायत त्यो गाडीले बाहिर फाल्ने धुवा (कारबनडाईअक्साईड) कतिसम्मको ठीक छ, बाहिरको वातावरणमा फाल्न ठीक छ कि छैनलगायतका सामान्य निरीक्षण तथा चेकजाँच या मर्मत नगरे वा नगराइए उक्त सवारीसाधनले बाहिर सडकमा निस्कन पाउदैनन्, यदि निस्किहालेको खण्डमा कडारूपमा कानूनी तथा आर्थिक दण्डसहित लामो समयसम्म त्यसको नकारात्मक रेकर्ड रहन्छ ।
यसैकारण पनि सवारीधनीले आफ्नो सवारी साधनको निरीक्षण, चेकजाँच तथा मर्मर समयमै गराउँछन् । यो प्रकिया एकदमै महत्त्वपूर्ण छ जापानमा । यसैकारण पनि सवारीधनीहरू तोकिएको समयमा तोकिएको सवारी ममर्त केन्द्र या कम्पनीहरूमा जाने गर्दछन् । त्यो भनेको सवारी साधनको अवस्था सधैँ ठीक रहिरहनु हो, त्यो भनेको कमसेकम सवारीको तर्फबाट कुनै कमजोरी नहुनू हो ।
नेपालमा सबैभन्दा धेरै एक्सिडेन्टहरू ब्रेक फेल भएर हुने गरेको समाचारहरूमा आइरहन्छन् । यी र यस्ता सामान्य मापदण्ड फलो नगर्दा धेरैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको छ । म आफैँ पनि चेकजाँच तथा निरीक्षण मर्मत-सम्भार गर्ने कम्यानीमा काम गरिरहेको अनुभव रहेकोले नेपालमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको समाचारले साह्रै मन दुख्छ ।
ट्राफिक सिग्नल तथा सङ्केतको अत्यधिक प्रयोग
जापानका सडकहरूमा उमेरअनुसारका सङ्केतहरू राखिएका हुन्छन् । यति मात्रै होइन, त्यहाँ ड्राईभिङ्ग स्कीलअनुसार पनि सङ्केतहरू उपलब्ध छन् । त्यहाँ लाईसेन्स लिएको एक वर्षसम्म ‘बिगीनर’ अर्थात् नयाँका चालकका रूपमा रहनुपर्छ । त्यसका लागि सवारी साधनमा बिगीनरको सङ्केट टाँसेर हिँड्नुपर्छ । जसले गर्दा सडकमा अरु सवारी साधन चालकहरू सतर्क रहन्छन् कि ऊ बिगीनर हो भनेर । र, त्यसैगरी आफूलाई तयार पार्छन् ।
यस्तै बूढ्यौली अर्थात् ६५ वर्षभन्दा माथि लागेका वृद्धवृद्धाका लागि सडकमा छुट्टै चिह्न हुन्छ । फरक क्षमताका व्यक्ति; कान नसुन्ने सवारी चालकहरूका लागि विभिन्न चिह्नहरू राखिएका हुन्छन् । सबै चालकहरूले ट्राफिक नियम राम्रोसँग पालना गरेको देखिन्छ । सामान्य चोकहरूमा समेत ट्राफिक लाईटका ‘रोक, हेर र जाऊ’ का नियमहरू पालना गरिन्छन् ।
तर, नेपालमा यस्ता सुविधाहरू छैनन् । नेपालमा सोलोडोलोरूपमै ट्राफिक सङ्केतहरू हुन्छन् । अझ कति त चल्दैनन् पनि । करिडोरहरूमा त लाईटहरू नै हुँदैनन् । अर्को त चालक तथा यात्रहरूले पनि नियम उल्लङ्घन गर्छन् । जसका कारण दुर्घटना अझै बढेको छ । तर, जापानमा यस्ता समस्याहरू हुँदैनन्, सरकारी रूपमै त्यसलाई नियमत गर्नुपर्छ ।
बाटो तथा सडकको अवस्था
हुन त हाम्रो देश नेपालसँग जापानको बाटोको तुलना गर्न खास सुहाउँदैन । हाम्रोतिर हेर्ने हो भने राजधानीकै सडक पनि बिजोक छ । पानी पर्दा बढी नै हिलो र घाम लाग्दा बढी नै धुलो हुनु राजधानीका सडकका विशेषता नै हुन् । साँघुरो, खाल्डाखुल्डी, भिरालो, ग्रेड नमिलेकोव त सामान्य नै भइहाले । नेपालमा मुख्यत: सडककै कारण दुर्घटना हुन्छन् । कतिपय रिपोर्टहरूले समेत त्यो देखाउँछन् ।
जापानमा यो समस्या हुँदैन । सबैभन्दा पहिले त बाटो नै राम्रो छ । त्यसैले सवारी दुर्घटना पनि नगन्य मात्रामा मात्रै देख्न सकिन्छ । उसो त साईकल यात्रु , पैदल यात्रु , विशेष क्षमता भएका (ह्वील चियर यूजर तथा सेतो लट्ठी प्रयोगकर्ता) व्यक्तिहरूका लागि छुट्टै सडक तथा फूटपाथहरू बनाइएका छन् ।
भनिन्छ— नेपालका सडक/बाटाहरू ‘डेथ ट्र्याप’ हुन् । तर, अवस्था चटक्कै फेर्न सकिँदैन । पहिलो त सरकारको आँखा त्यसमाथि पर्दैन नै । तर, जापानमा बाटोको अवस्थालाई पहिलो प्राथमिकता दिइन्छ ।
प्रोत्साहन तथा जरिबाना
जापानमा सवारी दुर्घटना कम गर्ने/गराउने यो पनि अर्को गजबको उपाय छ, दुर्घटना नगराएको, कुनै पनि क्रिमिनल रेकर्ड नबनाएका सवारी साधनका लागि थप सहुलियत हुन्छ भने क्रिमिनल रेकर्ड बनाएका सवारी धनीलाई उहीअनुरूपको कारबाही । इमान्दार, कुनै पनि क्रिमिनल रेकर्ड नबनाएका सवारी धनीहरूले सवारी साधन प्रयोगबापत् राज्यलाई तिर्नुपर्ने करमा सहुलियत पाउँछन् भने ट्राफिक नियम नमान्ने, क्रिमिनल रेकर्ड बनाएका सवारी साधनहरूलपे थप बढी तिर्नुपर्छ ।
उसो त सवारी दुर्घटनादेखि बिनालाईसेन्स सवारी चलाउने, ट्राफिक नियम नमान्ने, गतिभन्दा धेरै स्पीडमा सवारी चलाउनेलगायतका घटनाको अवस्था हेरी भारी मात्रामा कारबाही हुने या सजायको भागीदार हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा लाईसेन्सको पोइन्ट घट्दै जानेदेखि लाईसेन्स नै खारेज हुनुले पनि जापानमा दुर्घटना कम हुने गरेको देखिन्छ । त्यसो त गाडी उत्पादन गर्ने कम्यानीहरूको पनि कसले उत्कृष्ट गाडी उत्पादन गर्न सक्छ भनेर ठूलो प्रतिस्पर्धा नै चलिरहेको हुन्छ ।
तर, हाम्रो देशको सवारीसम्बन्धी एकदमै फितलो कानून छ । र, भएको कानून पनि कार्यान्वयन हुँदैन । हामी यात्रुहरू पनि नियम कानूनमा बस्दनौँ, उस्तै परे बिनालाईसेन्स सवारी चलाउँछौँ, मापसे, लापसे सबै हुँदा पनि कारबाही गर्ने कानून फितलो हुनुले पनि थुप्रै दुर्घटना निम्त्याएको छ ।
दुर्घटना केही मात्रामा कम गर्नैका लागि पनि अब सरकारले कडाइ रूपमा निश्चित सीमा, समय छुट्याएर तोकिएको ठाउँमा सवारीको मर्मत तथा निरीक्षण गर्ने नियम ल्याउनुपर्यो वा भएको नियमलाई पूर्णरूपमा लागू गर्नुपर्यो, जथाभावी बन्ने सडकहरूको निरीक्षण तथा सडकको उन्नत स्तरमा लाग्नुपर्यो । त्यसका साथै हामी जनता, पैदल यात्रुमा पनि बौद्धिक तथा नैतिक दबाब महसुस गर्नुपर्यो । यस्ता सामान्य कुराले पनि दुर्घटना कम हुनेमा यो लेखक पूर्ण विश्वस्त छ ।
Facebook Comment
Comment