हालसम्म ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार

नेपालभ्युज

हालसम्म ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार

काठमाडौं । सरकारले हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म सो संख्यामा गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क उद्धार गरी उपचारको व्यवस्था मिलाइएको हो ।

आर्थिक वर्ष २०७५-०७६ बाट यो कार्यक्रम लागू भएको थियो । राष्ट्रपति महिला उत्थान समन्वय इकाईकी प्रमुख नीता शर्माले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै  चालु आर्थिक वर्षमा १२६ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको बताइन ।

उनले थपिन्, ‘गर्भवती तथा सुत्केरी महिला पहिले प्रसुती सेवा लिन नजिकको स्वास्थ्यचौकी जान्छन्, त्यहाँ  कुनैपनि जटिल केस देखियो र जिल्ला अस्पताल लैजान समस्या छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गरिन्छ । पालिकालाई पनि खबर हुन्छ  सँगसँगै यहाँ पनि खबर आउँछ । त्यहीँ सूचनालाई आधार मानेर अहिलेसम्म हामीले उद्धार गरिराखेका छौं ।’

यो कार्यक्रम हालसम्म ४८ वटा जिल्लामा लागू गरिएको उनले बताइन । उनले अगाडी भनिन्, ‘खबर आएपछि आफुहरुले नेपाली सेनालाई तत्काल हेलिकप्टर उपलब्ध गराई दिन पहिले मौखिक रुपमा भनिसकेका हुन्छौं । हेलिकप्टर तयारी अवस्थामा बसिसकेको हुन्छ । र त्यो उड्ने बेलासम्म उहाँहरुको आधिकारिक जानकारी पनि आउँछ । त्यसैलाई आधार मानेर हामीले नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको अवस्था छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved