इस्फाहान : इजरायलले किन बनायो यो इरानी सहरलाई निशाना ?

नेपालभ्युज

इस्फाहान : इजरायलले किन बनायो यो इरानी सहरलाई निशाना ?

काठमाडौं । इरानको इस्फाहान सहर दरबार, टाइल मस्जिद र मीनारहरूको लागि प्रसिद्ध छ।

यो इरानको सैन्य उद्योगको एक प्रमुख केन्द्र पनि हो । शुक्रबार बिहानीपख यस सहरमा विस्फोटको आवाज सुनिएको थियो।

इस्फहान इरानको तेस्रो ठूलो सहर हो । इस्फहानको अर्थ ‘नेस्फ-ए-जहाँ’ वा आधा संसार हो। यो जाग्रोस पर्वत नजिकै इरानको केन्द्र भागमा अवस्थित छ।

यो सहर र यसको वरपरका क्षेत्रहरूमा ड्रोन र ब्यालिस्टिक मिसाइलहरू बनाउने कारखानाहरू छन् ।

सहरको नजिकै नातान्ज परमाणु केन्द्र छ। यो इरानको आणविक संवर्धन कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण केन्द्र हो।

इस्फाहानको नाम इरानको आणविक केन्द्रसँग जोडिएको कारणले गर्दा इजरायलले निशाना बनाएको अनुमान छ ।

इस्फाहानमा कसले आक्रमण गर्‍यो ?
अमेरिकी अधिकारीको दाबीलाई सत्य मान्ने हो भने इरानमा इजरायली आक्रमण भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले इरानलाई सन्देश पठाएको जस्तो देखिन्छ।

वास्तवमा इजरायलले इरानलाई उक्त क्षेत्रमा संवेदनशील लक्ष्यमा आक्रमण गर्न सक्ने क्षमता छ भनी बताउन खोजिरहेको देखिन्छ । यद्यपि इजरायलले त्यसो गर्नबाट परहेज गरिरहेको छ।

आक्रमणको समाचार विश्वभर फैलिएपछि इरानी अधिकारीहरूले तुरून्तै इस्फाहान प्रान्तमका आणविक केन्द्रहरू पूर्ण रूपमा सुरक्षित रहेको घोषणा गरेका थिए ।

इरान आफ्नो आणविक कार्यक्रमलाई आणविक हतियार राष्ट्र बन्न प्रयोग गरिरहेको कुरा अस्वीकार गर्दै आइरहेको छ ।

तर, रातारात के भयो भन्ने कुरामा विरोधाभासपूर्ण समाचारहरू आइरहेका छन् ।

बीबीसीका अनुसार इरानको अन्तरिक्ष एजेन्सीका प्रवक्ता हुसेन डेलिरियनले धेरै ड्रोनहरू सफलतापूर्वक खसालेको बताएका छन् । प्रवक्ता डेलिरियनले मिसाइल हमला भएको खबरलाई भने अस्वीकार गरे ।

केही इरानी मिडियाले इस्फाहान एयरपोर्ट र एक सैन्य एयरबेस नजिकै तीनवटा विष्फोट भएको जानकारी दिएका छन्।

इरानले इजरायलले आक्रमण गरेको आधिकारिक पुष्टि गरेको छैन।

के भन्यो इरानले ?
इरानका सैन्य कमाण्डर इन चीफ अब्दुल रहिम मौसावीले शुक्रबार रातिको विष्फोटलाई विमान विरोधी प्रतिरक्षा प्रणालीमा शंकास्पद वस्तुमा गोली चलाएको बताएका छन्।

इरानी मिडिया र अधिकारीहरूका अनुसार घटनामा तीन ड्रोनहरू संलग्न थिए, जुन घुसपैठहरूले प्रक्षेपण गरेका थिए।

इरानी वायुसेनाको इस्फाहान एयरपोर्टमा बेस छ । त्यहाँ केही पुराना एफ–१४ लडाकु विमान छन् ।

सन् १९७० को दशकमा शाहको शासनकालमा इरानले पहिलो पटक अमेरिकाले बनाएको एफ–१४ विमान खरिद गरेको थियो ।

त्यसबेलादेखि शाह सरकारले विमान उडान गर्न व्यवस्थित विमानस्थल निर्माण गरेका थिए ।

इरान संसारको एक मात्र देश हो, जसले अझै पनि टप गन फाइटर प्लेनहरू सञ्चालन गरिरहेको छ ।

इस्फाहान यसअघि पनि संदिग्ध इजरायली आक्रमणबाट प्रभावित भइसकेको छ ।

इरानले गत वर्ष जनवरीमा सहरको केन्द्रमा रहेको एउटा गोलाबारूद उत्पादन कारखानामा ड्रोन आक्रमण गरेको इजरायललाई दोष दिएको थियो। यो आक्रमण क्वाडकोप्टरमार्फत् गरिएको थियो, चार प्रोपेलर भएको सानो ड्रोन।

हालैका वर्षहरूमा इरानका अन्य भागहरूमा पनि यस्तै ड्रोन आक्रमणहरू भएको रिपोर्ट बाहिर आइरहेका छन् । इजरायलले यी कुनै पनि आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरिरहेको छ ।

इस्फाहानलाई किन निशाना बनाइयो ?
हामिश डे ब्रेटन-गोर्डन एक रासायनिक हतियार विशेषज्ञ र बेलायत र नाटो आणविक सेनाका पूर्व प्रमुख हुन्।

उनले इस्फाहानलाई लक्षित गर्नु इजरायलका लागि धेरै महत्त्वपूर्ण रहेको बताए । किनभने यस सहरको वरपर इरानका मुख्य सैन्य आधारहरू छन्।

इरानले आणविक हतियार विकास गर्न खोजिरहेको ठाउँको धेरै नजिक मिसाइल आक्रमण भएको समाचार आएकोले सायद यो यसैको सङ्केत भएको उनको भनाई छ ।

इजरायली आक्रमण मुख्यतया: आफ्नो क्षमता र यसको नियतको प्रदर्शन भएको गोर्डन बताउँछन् ।

उनले गत साता इरानले इजरायलमा प्रहार गरेका ३०० भन्दा बढी ड्रोन र मिसाइलमध्ये अधिकांशलाई रोकिएको बताएका थिए ।

जबकि इजरायलले लक्ष्यमा एक वा दुईवटा मिसाइल हानेर क्षति पुर्याएको हुनसक्ने उनको भनाई छ ।

‘इरानी अधिकारीहरूले आक्रमणलाई धेरै महत्त्व दिएका छैनन्,’ उनले भने, ‘किनभने इरान आफ्नो पुरानो वायु रक्षा प्रणालीहरू छिर्नमा इजरायलको सफलताको प्रचार गर्न चाहँदैनन्।’

उनले थप भने, ‘इजरायल सैन्य रूपमा इरानभन्दा धेरै अगाडि छ। यो त्यसैको प्रदर्शन हो।’

‘इरानले परम्परागत रूपमा इजरायलसँग आमनेसामने द्वन्द्वको सट्टा आफ्ना चरमपन्थी समूहहरू र प्रोक्सीहरू प्रयोग गरेर छायाँ युद्ध लड्न रूचाउँछ, जहाँ उसलाई थाहा छ कि यसले असफलता भोग्नेछ।’ गोर्डन भन्छन् ।

इरानलाई रूसको साथ
रूसले इरानलाई सैन्य सहयोग बढाइरहेको छ । रूसका विदेशमन्त्री सर्गेई लाभरोभले इरानले विवादलाई अझ बढाउन नचाहेको बताएका छन् ।

‘रूस र इरानको नेतृत्वबीच हाम्रा प्रतिनिधिहरू र इजरायलीहरू बीच टेलिफोन सम्पर्कहरू भयो । हामीले यी वार्तालापहरूमा धेरै स्पष्ट पारेका छौं, हामीले इजरायलीहरूलाई इरानले तनाव बढाउन नचाहेको कुरा बतायौं,’ लाभरोभले रूसी रेडियोलाई भने।

ब्रिटन-गोर्डनका अनुसार इरानले गत साताको अन्त्यमा इजरायलमा आक्रमण गरेर घटनालाई सामान्य रूपमा लिन चाहेको थियो । तर, विवाद झनै बढ्यो ।

अप्रिल १ मा सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायली क्षेप्यास्त्र आक्रमण गरेको आशंकापछि इरानले यो हमला गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved