काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई पराजित गरेको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।
१४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालका लागि गुल्शन झाले विष्फोटक ब्याटिङ गरे। १७ ओभरमा ११४ रनमा ५ विकेट गुमाएर संकटमा देखिएको नेपाललाई गुल्शनले सम्हाले।
गुल्शनले ७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १९ रनमा अविजित रहे।
नेपालका लाागि कप्तान रोहित कुमार पौडेलले २८ आसिफ शेख ३२, कुशल भूर्तेल २४, दीपेन्द्र सिंह ऐरीले २०, र कुशल मल्ल ७, रनको योगदान गरे। सन्दीप जोरा भने १२ रनमा अविजित रहे।मलेसियाका लागि विरनदिप सिंहले ३ विकेट लिए।
पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १४३ रन बनायो।
मलेसियाका लागि कप्तान विरनदीप सिंहले अर्धशतकीय पारी खेले। उनी ५७ बलमा ७२ रन मा अविजित रहे।
नेपालका लागि भने दीपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए।
शनिबार हुने खेलमा नेपाल र कतार सवा ४ मा आमने सामने हुनेछन्।
Facebook Comment
Comment