इलाम उपनिर्वाचनबारे हर्क- डकेन्द्रसिंह थेगिम जित्छन्, अरु सबै उम्मेदवार बच्चा हुन्

नेपालभ्युज

इलाम उपनिर्वाचनबारे हर्क- डकेन्द्रसिंह थेगिम जित्छन्, अरु सबै उम्मेदवार बच्चा हुन्

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपनिर्वाचनअन्तर्गत इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले जित्ने दाबी गरेका छन् ।

मङ्गलबार काठमाडौंमा पत्रकारहरूसँगको साक्षात्कारमा उनले यस्तो दाबी गरेका हुन् । “इलाम २ मा गत स्थानीय निर्वाचनमा धरानमा देखिएको इतिहास दोहोरिन्छ । त्यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले जित्छन् । उहाँलाई मैले पनि समर्थन गरेको छु,” उनले भने ।

उनले अरु उम्मेदवारलाई ‘बच्चा’ को संज्ञा दिए । “अरु त सबै उम्मेदवार बच्चा छन् । आज एउटा पार्टीमा, भोलि अर्कै पार्टीमा, पछि जिते भने पनि रिजाइन हान्दिन्छन् बढी टेन्सन भएपछि । फेरि राजनीति आउनु भनेकै गाली खानु हो,” उनले थपे ।

हर्कले थेगिमले जित्ने दुईवटा आधार भएको बताए । “पहिलो त उहाँले पहिचानको मुद्दा उठाउनुभएको छ । पहिचान भनेको संस्कृति हो र समाज भनेको संस्कृतिसहितको मान्छेको समूह हो । यसरी हेर्दा समाजमा पहिचान हुनुपर्छ । अर्को कुराचाहिँ उहाँ परिपक्व पनि हुनुहुन्छ,” उनले भने ।

नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ पनि बच्चा हुन् ? भनेर गरिएको प्रतिप्रश्नमा उनी भन्छन्, “उहाँले अझै १० वर्ष प्राक्टिस गर्नुपर्छ अनि मात्रै फिल्डमा आउँदा राम्रो हुन्छ । उहाँको बुवालाई पो जितायो त इलामले पटक-पटक । अब त्यसो भन्दैमा छोरालाई पनि जिताउने भन्ने नै हुँदैन । बुवाले जे गर्‍यो, त्यो छोराले पनि गर्छ भन्ने नै हुँदैन । सबैको आ-आफ्नो ट्यालेन्ट हुन्छ ।”

उनले जनता धेरै परिवर्तन भइसकेको ठोकुवा गरे । “पब्लिक पहिलेजस्तो छैनन् । स्वाभाविकरूपमा जनता परिवर्तन चाहन्छन् र उनीहरू परिवर्तन पनि भइसकेका छन्,” आफू पनि जनतामा आएको परिवर्तनकै कारण जितेको उल्लेख गर्दै उनले भने, “दलहरूको सञ्जाल तोडेर आएकाहरूले मात्रै काम गर्न सक्छन् ।”

इलाम २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा थेगिमले स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनलाई पहिचानवादी सङ्घसंस्थाहरूले समर्थन जनाएका छन् ।

यस्तै त्यहाँ नेकपा (एमाले) का तर्फबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) क्रमश: मिलन लिम्बू र जितबहादुर राई उम्मेदवार छन् ।

यसबाहेक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूले भने उम्मेदवार छानेका छैनन् ।

गत संसदीय निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्र रिक्त छ । यसपछि वैशाख १५ मा उपनिर्वाचन हुने भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved