आईपीएलमा अझै छ धोनीको दबदबा

नेपालभ्युज

आईपीएलमा अझै छ धोनीको दबदबा

काठमाडौं । भारतको विशाखापट्टनमको वीडीसीए स्टेडियममा आइतबार राति करिब ११ बजे महेन्द्र सिंह धोनी ब्याटिङ गर्न आएपछि मैदानमा ‘धोनी-धोनी’ को नारा गुन्जिन थाल्यो ।

यद्यपि, यो दिल्लीको दोस्रो घरेलु मैदान थियो । तर, मैदानमा उपस्थित दर्शकहरूले उनीहरूको मनपर्ने खेलाडी को हुन् भन्नेमा कुनै शंका छोडेनन्।

यो विशाखापट्टनमको त्यही मैदान थियो जहाँ सन् २००५ मा पाकिस्तानविरुद्धको एकदिवसीय खेलमा धोनीले १४८ रन बनाएर आफ्नो आगमनको घोषणा गरेका थिए।

सोही मैदानमा उही लामो कपाल भएका धोनीले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै अछुतो कीर्तिमान बनाए र दर्शकको मन जिते ।

खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । दिल्लीको इनिङ्समा डेभिड वार्नर र ऋषभ पन्तले अर्धशतक बनाए भने पृथ्वी शले ४३ रनको योगदान दिए ।

चेन्नईका लागि मथिश पाथिरानाले सर्वाधिक ३ विकेट लिए । जवाफमा चेन्नईले कमजोर सुरुवात गरेको थियो । दिल्ली पेसर्सले उत्कृष्ट बलिङ गर्दै चेन्नईको दुई विकेट मात्र ७ रनमा खसालेको थियो ।

खलिल अहमदले उत्कृष्ट सुरुवात गरे पनि पछि मुकेश कुमारले ३ विकेट लिएर चेन्नईको ब्याटिङलाई ध्वस्त पारे ।

धोनी ब्याटिङमा आउँदा चेन्नईको स्कोर १२० रन थियो र जितका लागि २३ बलमा ७२ रन आवश्यक थियो। धोनीले निकै आक्रामक पारी खेलेपनि दिल्लीले खेल २० रनले जित्न सफल भयो ।

टी-२० मा धोनीको कीर्तिमान

जब यो दिल्ली र चेन्नईको खेल थियो, सबैको नजर यस खेलमा अर्को भिडन्तमा थियो र त्यो थियो धोनी र  पन्तको भिडन्त।

एक भारतका महान् खेलाडी र सबैभन्दा सफल विकेटकिपर र कप्तान हुन्, र अर्को एक खेलाडी हुन् जसले धोनीबाट क्रिकेटको चाल सिके र गम्भीर दुर्घटनापछि क्रिकेटमा फर्केका छन्।

सधैं झैं, धोनीले फेरि खेलमा उत्कृष्ट किपिङ गरे । उनले खतरनाक देखिएका पृथ्वी शको क्याच लिए ।

४३ रनमा खेलिरहेका शले रविन्द्र जडेजाको बाहिर जाने बल काट्ने प्रयास गरे पनि उनले सट नियन्त्रण गर्न सकेनन् ।

उनको ब्याट भित्री किनारमा ठोक्कियो र स्टम्पको पछाडि उभिएका धोनीले क्याच लिन कुनै गल्ती गरेनन्। यो क्याचले धोनीको नाममा ठूलो रेकर्ड बनाएको छ । यो उनको टी २० क्रिकेट (क्याच र स्टम्प सहित)मा ३०० औं आउट थियो।

उनी टी–२० खेलमा ३००औं पटक आउट गर्ने एकमात्र खेलाडी बनेका छन् । धोनीको क्याचमा टिप्पणी गर्दै इयान बिशपले धोनी आफ्नो उमेरको तुलनामा निकै कान्छो देखिएको बताए ।

यो कीर्तिमान बनाउन उनले क्विन्डन डी कक र दिनेश कार्तिक जस्ता किपरलाई पछाडि छोडेका छन् ।

टी-२० खेलमा क्याचको मामिलामा डी कक अझै पनि धोनीभन्दा अगाडि छन्, उनीसँग २२० क्याचको कीर्तिमान छ भने धोनीले हालसम्म २१३ क्याच समातेका छन् ।

उनले जसरी क्याचिङ गरिरहेका छन्, उनले छिट्टै यो कीर्तिमानमा डी ककलाई पनि पछाडि छोड्नेछन् ।

आईपीएलको यो सिजनमा धोनीले पहिलो ३ खेलमा ४ क्याच लिएका छन् । गुजरात टाइटन्सविरुद्धको खेलमा विजय शंकरको क्याच पनि यी क्याचहरूमा समावेश थियो।

धोनी ब्याटिङमा आउँदा चेन्नईले निकै छिटो रन बनाउनुपरेको थियो । चेन्नईले २३ बलमा ७२ रन बनाउनु परेको थियो ।

उनले १६ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाए । उनको स्ट्राइक रेट २ सय ३१ थियो, जुन दुवै टोलीमा सर्वाधिक थियो।

धोनीले सक्दो प्रयास गरे पनि उनको टोली २० रनले पछि रह्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved