रुसमा पुटिन पुनर्विजयको सङ्केत र सन्देश !

पुटिनको विजय अनपेक्षित थिएन । जुन राजनीतिक परिवेश र परिस्थितिमा चुनाव हुँदै थियो, उनले जित्ने निश्चित नै थियो । पुटिन शासनकालमा दर्जनौं विपक्षी नेता मारिए, जेल परे र कति निर्वासित भए । रुसमा त्यस्तो राजनीतिक शक्तिको विकास र विस्तार हुनै पाएन, जसले पुटिनलाई विस्थापित गर्न सकोस् ।

रुसमा पुटिन पुनर्विजयको सङ्केत र सन्देश !

काठमाडौं । विश्वको सबैभन्दा ठूलो देश रुसमा सन् १९९१ मा साम्यवादको पतनपछिको आठौँ राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति भ्लादिमिर पुटिन (Vladimir Putin) पाँचौँपटक निर्वाचित भएका छन् ।

पुटिनको विजय अनपेक्षित थिएन । जुन राजनीतिक परिवेश र परिस्थितिमा चुनाव हुँदै थियो, उनले जित्ने निश्चित नै थियो । संसारभरका सबैजसो राजनीतिक विश्लेषक, रुसी मामिलाका जानकार तथा सञ्चारमाध्यमले मतदानअघि नै पुटिनको जीत सुनिश्चित ठानिसकेका थिए ।

त्यस्तो अनुमान गर्नुपर्ने अन्य थुप्रै कारण थिए । तर, सबैभन्दा महत्त्वपूर्ण कारण थियो—विगत दुई दशकयता रुसी विपक्षीमाथि भएको राज्य-दमन । पुटिन शासनकालमा दर्जनौं विपक्षी नेता मारिए, जेल परे र कति निर्वासित भए । रुसमा त्यस्तो राजनीतिक शक्तिको विकास र विस्तार हुनै पाएन, जसले पुटिनलाई विस्थापित गर्न सकोस् । त्यसको पछिल्लो उदाहरण थिए— अलेक्सेइ नाभाल्नी (Alexei Navalny)। नाभाल्नीको गत फेब्रूअरी १६ मा आर्टिक जेलमा शङ्कास्पदरूपमा मृत्यु भएको थियो ।

पुटिनसँग चुनाव लड्न चाहने केही उम्मेदवारलाई निर्वाचन आयोगले अनुमोदन दिएको थिएन । अन्ततः पुटिनसमेत ४ उम्मेदवार मात्र कायम भएका थिए । ती थिए, कम्युनिष्ट पार्टीका निकोलाई खार्तिनोभ, एसएसपीएसका भादिस्लाभ दानस्कोभ र एलडीपीआरका लियोनिद स्लुत्स्की । पुटिन भने स्वतन्त्र उम्मेदवारको हैसियतमा थिए । तर, उनको पार्टीलाई रसिया यूनाईटेडको समर्थन थियो ।

पुटिनबाहेक यी कुनै पनि उम्मेदवारले ५ प्रतिशत मत कटाउन सकेनन् । दोस्रो स्थान हासिल गरेका कम्युनिष्ट उम्मेदवारले ४.३१ प्रतिशत मत पाए भने दानास्कोभले ३.७९ र स्लुत्स्कीले ३.१९ प्रतिशत मत पाए ।

७४.२२ प्रतिशत मतदान भएको निर्वाचनमा पुटिनले भने एक्लै ८७.३४ प्रतिशत मत पाए । अघिल्लो निर्वाचनमा उनले ७८ प्रतिशत मत पाएका थिए । यसपटक झन्डै १० प्रतिशत बढी पाए । राष्ट्रपति निर्वाचनमा कुनै उम्मेदवारले यति धेरै मत पाएको रुसी इतिहासमै यो पहिलो हो ।

त्यसो त पुटिन रुसमा लामो शासनकालको अर्को रेकर्ड स्थापना गर्दैछन् । अहिले निर्वाचित ६ वर्षको कार्यकाल पूरा गर्दा उनको शासनकाल ३० वर्षभन्दा धेरै हुनेछ । सोभियत शासनकालमा जोसेफ स्टालिनको शासन करिब ३० वर्षको थियो । पुटिन ७१ वर्षका छन् । स्वास्थ देखिन्छन् । कुनै उथलपुथल भएन भने उनले यो कार्यकाल सहजै पूरा गर्ने सम्भावना छ ।

रुसमा युद्धबीच चुनाव भएको पनि यो इतिहासकै पहिलो घटना हो । सन् २०२२ फेब्रूअरीमा सुरू भएको रुस-युक्रेन युद्ध दुई वर्षभन्दा धेरै लामो भइसकेको छ । युद्ध अन्त्य हुने अहिलेसम्म कुनै सङ्केत देखिएको छैन । कतिपयले निर्वाचनमा रुसी जनताको युद्धविरोधी भावना देखिने र पुटिनलाई घाटा हुनसक्ने ठानेका थिए । तर, त्यसो भएन ।

रुसले युक्रेनको क्रिमिया सन् २०१४ मै अधीनस्थ गरिसकेको थियो । जारी युद्धबीच अधीनस्थ गरिएका खारसान, दोनेस्क र लुहान्स्क क्षेत्रमा पनि मतदान भएको छ ।

पुटिनले राष्ट्रपतीय निर्वाचनमा अभिव्यक्त भएको जनमतबाट युद्ध जनअनुमोदित भएको बताएका छन । निर्वाचन परिणामपछि उनले भने— देश अझ एकताबद्ध भएको छ । रुसको आर्थिक विकास र उन्नतिलाई कसैले रोक्न सक्दैन । रुस देशको मूल्यमा हामी जुनकुनै मूल्य चुकाउन तयार छौँ ।

तर, मतदानका दिन पुटिन विरोधीले मौन विरोध गरेका थिए । उनीहरू मतदान केन्द्र पुगेर भोट नहाली चुपचाप लाइनमा उभिएका थिए । सञ्चारमाध्यमले यस्ता थुप्रै दृश्य देखाएका थिए । नाभाल्नीकी विधुवा युलियाले बर्लिन दूतावासबाट भोट खसाइन् । । तर, उनले मतदानपछि पत्रकारसँग भनिन् कि उनले मतपत्रमा आफ्ना पतिको नाम मात्र लेखिन् ।

रुसी जनताले वास्तवमै ‘पुटिनको शासन र युद्ध’ अनुमोदन गरेका हुन् वा यो एक विशिष्ट ‘लोकतान्त्रिक क्षय’ को सङ्केत हो ? यसै भन्न सकिँदैन । अमेरिकालगायतका पश्चिमा देशले रुसी निर्वाचन निष्पक्ष र स्वतन्त्र नभएको प्रतिक्रिया दिए । तर, रुसी मनोविज्ञानमा त्यस्ता प्रतिक्रियाको कुनै ठूलो अर्थ देखिन्न ।

पुटिनलाई सन् १९९९ मा पहिलोपटक तत्कालीन राष्ट्रपति बोरिस यल्तसिनले प्रधानमन्त्री नियुक्त गरेका थिए । यल्तसिनको मृत्यु हुँदा उनले कार्यवाहक राष्ट्रपतिको भूमिका गर्ने अवसर पाए । त्यसपछि उनले कहिल्यै सत्ताबाट विमुख हुनुपरेन ।

सन् २००८-२०१२ को बीचमा भने उनी प्रधानमन्त्री रहे । त्यतिखेर रुसी संविधानमा राष्ट्रपतिको ४ वर्षे र दुई कार्यकाल हुन्थ्यो । तर, पुटिनले यो संवैधानिक व्यवस्थासमेत हटाइ दिए । ६ वर्षे र कार्यकालको कुनै सीमा नहुने बनाए ।

यस्तो संवैधानिक संशोधनले उनलाई नयाँ अवसर दियो । सन् २०३० मा यदि थप एक कार्यकालका लागि राष्ट्रपति निर्वाचित भए भने उनी रुसी इतिहासकै लामो शासक हुनेछन् । स्टालिनको अभिलेख सोभियतकालीन हो, जो तोडिँदैछ ।

जारकालीन अभिलेख भने १८औं शताब्दीकी जरिना क्याथरिन द्वितीय नाममा छ । उनले सन् १७६२ देखि १७९६ सम्म ३४ वर्ष शासन गरेकी थिइन् । पुटिनको तुलना अहिले स्टालिनभन्दा बढी क्याथरिन द्वितीयसँग हुन थालेको छ ।

रुसको राजनीतिक इतिहास नै यस्तै छ कि यसले कुनै न कुनै प्रकारको अधिनायकवादी शासनलाई स्थान दिन्छ, चाहे त्यो निर्वाचित वा गणतान्त्रिक तानाशाही नै किन नहोस् ।

रुसमा सन् १९१७ को फेब्रूअरीमा जारशाहीको अन्त्य भएको थियो । तर, बहुदलीय लोकतन्त्र संस्थागत हुन नपाउँदै अक्टोबरमा लेनिन नेतृत्वको बोल्शेभिक पार्टीले सशस्त्र विद्रोहद्वारा सत्ता हत्याएको थियो ।

सन् २०१८ को जुनमा बोल्शेभिकहरूले संविधान सभाको निर्वाचन गराए । तर, आफैँ अल्पमतमा परेपछि सत्ता हस्तान्तरण भने गरेनन् । बोल्शेभिक २४ प्रतिशत मात्र मत पाएर दोस्रो भएका थिए भने समाजवादी क्रान्तिकारी पार्टीले ३५ प्रतिशत मत पाएर पहिलो भएको थियो ।

संविधान सभामा पराजयका बाबजुद बोल्शेभिकहरूको शासन ७४ वर्ष टिक्यो । यो अवधिमा एकदलीय कम्युनिष्ट तथा सोभियत प्रणाली कायम भयो । सन् १९९१ मा सोभियत प्रणालीको अन्त्य र सोभियत सङ्घको विघटनपछि रुस लोकतान्त्रिक युगमा फर्किने विश्वास थियो । यही विश्वासमा अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य’ लेखेका थिए । सन् १९९१ को रुसी घटनाक्रमलाई ‘उदार लोकतन्त्रको दिग्विजय’ भनेका थिए ।

तर, शताब्दीऔं लामो राजतन्त्र र साम्यवादी शासनको कारण त्यहाँ दीगो, पुराना लोकतान्त्रिक दल थिएनन् । तसर्थ, लोकतान्त्रिक संस्कार र संस्कृति पनि बलियो थिएन ।

सन् १९९१ को क्रान्तिको नेतृत्व गर्ने बोरिस यल्तसिन आफैँ कुनै लोकतान्त्रिक आन्दोलनको नेता नभएर सोभियत कम्युनिष्ट पार्टीकै विद्रोही पोलिटब्यूरो सदस्य थिए । तिनै यल्तसिनले क्रेमलिनमा प्रवेश दिएका एक नवयुवा आज रुसको निस्कन्टक शासक बनेका छन्।

सन् २०१२ मा पुटिनले ६३.६ प्रतिशत भोट ल्याएका थिए भने सन् २०१८ मा ७८ र यसपटक ८७ प्रतिशत । पुटिनले प्राप्त गरेको मत निरन्तर बढेको छ । अधीनस्थ यूक्रेनी क्षेत्रको मतगणना अझै सकिएको छैन । त्यहाँ ५० लाखभन्दा बढी मत भएको र पुटिनले प्राप्त गर्ने मत अन्त्यसम्ममा ९० प्रतिशतभन्दा माथि जाने सम्भावना छ ।

निर्वाचनपछि पुटिनलाई यूक्रेन युद्ध जारी राख्न झनै सजिलो भएको छ । अहिले रुसी वार्षिक बजेटको ४३ प्रतिशत रकम युद्ध र सैन्य क्षेत्रमा खर्च भइरहेको छ । यस्तो भयावह सैन्यकरणले रुसलाई युद्धको अन्त्यसम्म कहाँ पुर्‍याउँछ कसैले यकिन भन्न सक्दैन ।

अक्सर लामो शासनमा रहेकाहरुको एउटा समस्या हुन्छ कि शासन निवृत्त जीवनप्रति उनीहरू भयभित हुन्छन् । सायद यही कारण थियो कि अधिकांश रुसी शासक कि अपदस्थ भएका थिए कि जीवन पर्यन्त शासनमा बसेको पाइन्छ ।

स्टालिन र ब्रेझनेभ बाँचुन्जेल शासनमा बसेका थिए । सत्तामा रहँदै उनीहरूको मृत्यु भएको थियो । निकिता ख्रुश्चेभ र मिखाइल गोर्भाचोभ भने अपदस्थ भएका थिए । पुटिनको नियतिमा के छ ? अझै कसैले भन्न सक्ने अवस्था छैन . सन् २०३६ सम्म शासनमा रहे उनी ८३ वर्षको हुनेछन् ।

पुटिनकालीन रुसको विश्व सन्देश भने सायद यही हो कि अनिश्चय र युद्धग्रस्त मानसिकताका बीच लोकतन्त्र र मानवताको सन्तुलित तथा बहुआयामिक विकासले सहज मार्ग अवलम्बन गर्न सक्दैन ।

पुटिन संसारका एक त्यस्ता दुर्लभ शासक बनिसकेका छन् । जसलाई ‘निर्वाचित तानाशाह’ भन्न सकिन्छ । तर, रुसी इतिहास र मनोविज्ञान भने पुटिनजस्ता शासकको जन्मका लागि सधैँ तत्पर र उर्वर थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved