काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ । सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सङ्घीय संसद् सचिवालयले अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।
निर्वाचन कार्यालिकाअनुसार मङ्गलबार (भोलि) मत-विभाजन प्रक्रियाअनुसार अध्यक्ष छानिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
नारायण-युवराजबीचको प्रतिस्पर्धा सत्ता गठबन्धन भर्सेस नेपाली कांग्रेस हो । अरु साना दलहरूले के गर्छन्, निर्णय गरिसकेका छैनन् । त्यसो त उनीहरू निर्णायक बन्ने अवस्था पनि छैन ।

सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) छन् ।
त्यसमा नारायण गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन्, उनी माओवादी केन्द्रका नेता हुन् । राष्ट्रिय सभामा उनी मनोनीत सदस्य हुन् । युवराज भने कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन् ।
गठबन्धनमा रहेका दलहरूमध्ये माओवादीसँग १६, एमालेसँग १०, एकीकृत समाजवादीसँग ८ र जसपासँग ३ सदस्य छन् । यसअनुसार नारायणको पक्षमा स्पष्ट ३७ सांसद देखिन्छ । ५८ सदस्यीय राष्ट्रियसभा (सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुन बाँकी) मा अध्यक्ष चुनिन कम्तिमा ३० जना सांसदले समर्थन गर्नुपर्छ । यसरी हेर्दा नारायणको पक्षमा स्पष्ट बहुमत देखिन्छ ।
तर, ८ सिट भएको एकीकृत समाजवादीले भने फट्कार देखाएको छ । एकीकृत समाजवादीको सोमबार बसेको संसदीय दलको बैठकमा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका मागहरूका सम्बन्धमा लिखित सहमति गर्नुपर्ने माग गरेका छन् ।
पार्टीको तर्फबाट त्यही आधिकारिक धारणा भएको प्रमुख सचेतक मेटमणि चौधरीले बताएका छन् । “यदि लिखित सहमति नभएमा मत दिइरहनुपर्छ भन्ने ठानेका छैनौँ,” उनले भनेका छन् ।
यदि एकीकृत समाजवादीले आफ्नै अडान छाडेन र प्रधानमन्त्री प्रचण्डले मानेनन् भने नारायणलाई गाह्रो पर्न सक्छ ।
यता कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराजको पक्षमा भने अहिलेसम्म उनकै दलको मात्रै मत देखिन्छ । राष्ट्रिय सभामा कांग्रेससँग १६ सांसद छन् ।
यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका १/१ सांसद छन् । उनीहरूले के गर्छन्, निर्णय गरिसकेका छैनन् । तर, उनीहरू त्यति निर्णायक हुने अवस्था देखिँदैन ।
यसबाहेक अर्को मनोनीत सिटमा वामदेव गौतम छन् । माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि एमालेबाट पनि राजीनामा दिएका गौतम पछिल्लो गठबन्धनसँग आशावादी छन् ।
नेकपा फुटेसँगै वाम एकताको पृष्ठपोषण गर्दै आएका उनले वामपन्थी दलहरू एकठाउँ हुनुपर्ने बताउँदै आएका छन् । त्यसकारण नेकपा एकता अभियानका संयोजकसमेत रहेका उनले नारायणलाई नै मतदान गर्ने सम्भावना छ ।
Facebook Comment
Comment