काठमाडौं । लागू औषध कारोबारमा थुनामा रहेका तत्कालिन जनमुक्ति सेनाका पूर्वकमाण्डर जीतमान पुन ुमार्सलु को मुद्दामा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै सर्वोच्चले जिल्लाबाटै पुनः सुनुवाइ गर्न परमादेश जारी गरेको हो । उनी चरेस ओसारपसार मुद्दामा जेल सजाय तोकिएका व्यक्ति हुन् ।
रुकुमपूर्व घर भएका मार्सल काठमाडौँको मच्छेगाउँबाट गत माघमा पक्राउ परेका थिए । जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको थियो ।
पुनकी पत्नीले स्वच्छ सुनुवाइको मौका नदिएको, म्याद तामेल नभएको, पिताको नामसमेत फरक परेको लगायत कारण देखाउँदै पुनः सुनुवाइ हुनुपर्ने मागसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । उक्त रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले यस्तो आदेश गरेको हो ।
उनीविरुद्ध २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ ।
२०७२ मा दाङ जिल्ला अदालतले लागु औषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो ।
Facebook Comment
Comment