विद्युत् निर्यात गर्न बंगलादेशसँगको वार्ता सकारात्मक

नेपालभ्युज

विद्युत् निर्यात गर्न बंगलादेशसँगको वार्ता सकारात्मक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत् बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आगामी वर्षायामदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बिपिडिबीबीच सहमति भएको हो  ।

दुबै पक्षबीच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबी अन्तर्गतको बोलपत्र मूल्यांकन समितिबीच बिहीबार बंगलादेशको ढाकामा वार्ता भएको हो । विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाबारे विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

“बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत् बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौँ, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाबारे विस्तृत रुपमा छलफल गर्यौंँ”, कार्यकारी निर्देशक घिसिङले भने, “उहाँहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिटो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत् खरिद गर्ने गरी सम्झौतामा सहमति जुटेको छ ।”

प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बङ्गलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको बताइएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुने प्राधिकरणले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved