दिल्लीमा भेला भए ग्लोबल इन्टेलिजेन्सका प्रमुख, नेपाललाई निम्ता भएन

नेपालभ्युज

दिल्लीमा भेला भए ग्लोबल इन्टेलिजेन्सका प्रमुख, नेपाललाई निम्ता भएन

काठमाडौं । भारतले मंगलबारदेखि नयाँ दिल्लीमा विश्वका गुप्तचर प्रमुखहरुको सम्मेलन आयोजना गरेको छ ।

रायसिना डायलगको पूर्व सन्ध्यामा भारतको गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ् (र’अ)ले सम्मेलन आयोजना गरेको हो ।

बुधबारसम्म चल्ने सम्मेलनमा नेपालका गुप्तचर प्रमुख हुतराज थापा सहभागी छैनन् । उद्घाटन शत्रमा दिल्लीस्थित नेपाली दूतावासमा रहेका अनुसन्धान एसएसपी राजन उप्रेतीलाई भने बोलाइएको नेपाल अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

उनी डेढ महिनाअघि गुप्तचरको सम्मेलनमा सहभागी हुन दिल्ली पुगेर फर्केकाले यसपालि उनलाई नबोलाइएको अड्कलबाजी भइरहेको  छ ।

सबैभन्दा रोचक त क्यानाडाका गुप्तचर प्रमुखलाई उच्च सम्मानसाथ भारतले दिल्लीमा स्वागत गरेको छ । अमेरिका, क्यानाडा, बेलायत, जापान, अस्ट्रेलिया, बंगलादेश, मोरिसस, युरोपियन युनियन, श्रीलंका लगायत २६ देशका गुप्तचर प्रमुखहरु भारतमा भेला भएका छन् ।

बुधबारसम्म चल्ने गुप्तचरहरुको सम्मेलन मुख्य रूपमा आतंकवाद विरोधी प्रयासहरूमा केन्द्रित हुने बताइएको छ । यो भारतीय गुप्तचर निकायले हरेक वर्ष आयोजना गर्दै आएको सम्मेलनको निरन्तरता हो ।

विशेषतः अन्तर्दृष्टि, रणनीतिहरू, र विकसित सुरक्षा चुनौतिहरूको सामना गर्न राष्ट्रहरू बीचको सहकार्यमा घनिभूत छलफलका लागि यो महत्वपूर्ण मञ्च मानिन्छ । दिल्लीमा लगातार तीन बर्षदेखि सम्मेलन हुँदै आएको छ ।

भारतीय सञ्चार संस्था डब्लुआइओएनका अनुसार विश्वव्यापी परिदृश्यमा आतंकवाददेखि साइबर धम्कीहरू सम्मका विकसित सुरक्षा चुनौतीहरू उत्पन्न भएको सन्दर्भमा गुप्तचर प्रमुखहरुको सम्मेलनमा सूचना साझेदारी र समन्वयात्मक कार्यका लागि सहकार्यमा जोड हुनेछ ।

गुप्तचर प्रमुखहरुको सम्मेलन सकिएपछि उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सम्मेलन नयाँ दिल्लीको लोधी रोडमा रहेको रअ कार्यालयमा आयोजना गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved