कांग्रेसको प्रतिवदेन- रास्वपा लोकप्रियतावादी, राप्रपा अधिनायकवादी

'सडककर्म समाधान होइन, अर्थहीन कुचेष्टा मात्रै हो'

नेपालभ्युज

कांग्रेसको प्रतिवदेन- रास्वपा लोकप्रियतावादी, राप्रपा अधिनायकवादी

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसद्‌को क्रमश: चौथो र पाँचौँ ठूला दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति कटाक्ष गरेको छ ।

उपप्रधा एवम् रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको नीति प्रस्ताव (प्रतिवेदन)मा रास्वपा र राप्रपामाथि कडा कटाक्ष गरिएको हो । प्रतिवदेनमा रास्वपालाई ‘लोकप्रियतावादी’ र राप्रपालाई ‘अधिनायकवादी’ करार गरिएको छ ।

प्रस्तावमा रास्वपाको नाम नलिइकन भनिएको छ, “दायित्व र जिम्मेवारीबाट पन्छिनु र आफ्नो प्रष्ट दृष्टिकोणबिना लोकप्रियताका लागि जे पनि बोल्नु नै लोकरिझ्याइँ हो । त्यही लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन । न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य नै ।”

रास्वपाको लोकतन्त्रप्रतिको प्रतिबद्धता पनि नभएको प्रतिवेदनमा उल्लेख छ । “भावी यात्राको प्रष्ट मार्गचित्र पनि छैन । यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्नशील छन्,” त्यहाँ भनिएको छ ।

यस्तै राप्रपाले काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोजेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “यो अधिनायकवाद हो । अधिनायकवादीहरू रूपमा भिन्न देखिए पनि सारमा लोकतन्त्रविरोधी नै हुन् । उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको बैहत्तर हितको दायित्व बोध छ, न जिम्मेवारी ।”

भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाविरुद्ध घृणाको राजनीति र त्यही घृणाको आवरणमा केही तत्त्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयासमा लागिरहेको प्रस्तावमा उल्लेख छ ।

यस्तै प्रतिवेदनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गर्ने निर्णय गरेको आन्दोलनबारे पनि बोलेको छ । “पुनरुत्थानको प्रयास जस्तो देखिने सडककर्म खासमा प्रयास होइन, यो केवल अर्थहीन कुचेष्टा मात्रै हो,” त्यहाँ भनिएको छ ।

त्यसअघि भनिएको छ, “राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टि तथा चित्तदुखाइ छ । यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तनविरुद्ध आवाज उठाउनेहरू पनि देखिएका छन् । राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो ।”

यी कटाक्षहरूबारे जिज्ञासा राख्दा कांग्रेसका एक नेताले भने, “सबै कुरा प्रस्ताव/प्रतिवेदनमै छन् । त्यहाँ जे छन्, करा त्यही तपाईंहरू बुझिहाल्नुहुन्छ । निर्णायक शक्तिका रूपमा सरकार वा संसद्‌मा रहेका तर, कदम भने संविधानसम्मत नचाल्नेहरूलाई भनिएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved