पुष्पा २ प्रदर्शनको तयारी भइरहँदा अल्लु अर्जुनले भने– ‘पुष्पा ३’ को तयारीमा जुटिसकेका छौँ

नेपालभ्युज

पुष्पा २ प्रदर्शनको तयारी भइरहँदा अल्लु अर्जुनले भने– ‘पुष्पा ३’ को तयारीमा जुटिसकेका छौँ

काठमाडौं । चर्चित भारतीय अभिनेता अल्लु अर्जुनले आफू अभिनीत फिल्म ‘पुष्पा’को तेस्रो शृङ्खला निर्माण हुने भएको बताएका छन् ।

सन् २०२१ मा रिलिज भएर ब्लकबस्टर भएको पुष्पाको दोस्रो भाग रिलिज हुन केही महिना बाँकी रहँदा अभिनेताले तेस्रो सिक्वेल आउने खुलासा गरे ।

जर्मनीमा जारी बर्लिन फिल्म फेस्टिभलमा पुगेका अल्लुले ‘पुष्पा’को थप शृङ्खला बनाउने तयारीमा आफूहरू रहेको बताए ।

दोस्रो भाग भने १५ अगस्टमा रिलिज तयारीमा छ । फेस्टिभलमा फ्यानसँग अभिनेताले अन्तरक्रिया गरेका थिए ।

हलिउड म्यागजिन भेराइटीसँगको एक अन्तर्वार्तामा अल्लुले भने, ‘‘तपाईँ पक्कै पनि तेस्रो भागको आशा गर्न सक्नुहुन्छ । हामी यसलाई फ्रेन्चाइजी बनाउन चाहन्छौँ र हामीसँग लाइनअपका लागि रोमाञ्चक विचार छन् ।’’

उनले फिल्मको दोस्रो भागबारे पनि केही चर्चा गरे । पुष्पा २ मा पुष्पा १ भन्दा धेरै भिन्न कुरा देखिने उनले सुनाए । अल्लुले भने, ‘‘चरित्रको हिसाबले, स्केल र प्रस्तुतीकरणको हिसाबले यसको क्यानभास बृहत् हुनेछ । तुलना गर्दा यो पुष्पा १ भन्दा भव्य हुनेछ र चरित्रको आयाम फरक छ ।’’

सुकुमार निर्देशित ‘पुष्पा : द रुल’मा अल्लु अर्जुन पुष्पराज, रश्मिका मन्दाना उनकी पत्नी श्रीवल्ली र फहद फासिल भंवर सिंह शेखावतको भूमिकामा छन् ।

सन् २०२१ मा रिलिज भएको फिल्मको पहिलो भाग ब्लकबस्टर भएको थियो । भारतमा मात्रै नभई अन्य देशबाट पनि फिल्मले धेरै माया पाएको थियो, फिल्मका संवाद र गीत सामाजिक सञ्जालमा निकै चर्चित बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved