काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्धको खेलको पराजयलाई ठुलो अवसरको रुपमा लिएको मुख्य प्रशिक्षक मोन्टी देशाईंले बताएका छन्।
बिहीबार नामिबियासँग ४ विकेटले हारेपश्चातको पत्रकार अन्तरक्रियामा देशाईंले हारलाई अवसरका रुपमा लिने बताएका हुन्। मुख्य प्रशिक्षकमा देशाईंको आगमनपश्चात घरेलु मैदानमा लगातार १५ खेलमा जित हासिल गरेको नेपाली टोली १६ औँ खेलमा भने पराजित भएको हो।
तथापि, प्रशिक्षक देशाईंले पराजयलाई पनि सकारात्मक रुपमा लिने बताउँदै अगाडी भने, ‘हारलाई ठुलो अवसरको रुपमा लिएको छु। यसरी नै टोली बनाउने हो। यसरी नै ग्रो हुने हो। सुरुवातमा गुमेको विकेटले अलि पछि पार्यो। भीम र कुशलको साझेदारीले केही सम्हाल्न, खेलमा फर्काउन खोजेको थियो। तर पछिल्लाक्रमका ब्याट्सम्यान पनि जम्न सकेनन् ।’
उनले बिहीबारको खेल चुनौतीपूर्ण हुने आकलन गरेको बताए। उनले भने, ‘आजको अवस्था चुनौतीपूर्ण हुने आकलन गरेका थियौं। कमी कमजोरीलाई अझैँ पोलिस गर्नेछौँ। गृहकार्य गर्नेछौँ। बलियो भएर फर्किनेछौँ।’
उनले टोलीमा भने असन्तुलनको कमी नभएको दाबी गरे। ‘टोली सन्तुलित नै थियो। आठौं नवौं स्थानसम्म पनि ब्याटिङ जारी नै थियो। तर, ब्याटरहरुले आफ्नो क्षमताअनुरुप प्रदर्शन गर्न सकेनन्। पहिलो ३० बलमा आफ्नो योजनाअनुरुप प्रदर्शन भएको भए स्थिति फरक हुने थियो। बीचमा २ साझेदेरी भएको भए हामीले २३०–२४० रनको लक्ष्य दिन सक्थ्यौँ। र सहज जित हुन सक्थ्यो, ’प्रशिक्षक देशाईंले बताए।
उनले भने,‘पावर प्लेमा गुमाएको ४ विकेट महंगो सावित भयो। प्रदर्शन गर्न चुकेका खेलाडीको लागि अन्य खेलाडीले पूर्ति गर्नु पर्ने थियो। तर, गर्न सकेनन्। यसलाई पक्कै पनि ख्याल गरिनेछ।’
उनले लिग–२ का सबै टोलीहरु बलियो नै भएको बताए। एकदिवसीयमा धेरै उतारचढाव हुने र जितसँगै पराजयपश्चातको भावनासँग पनि जुध्न अनुभवले सहयोग गर्ने प्रशिक्षक देशाईंले भने।
सोही पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले सुरुवातका खेलाडीहरु नचल्दा प्रदर्शन अपेक्षाअनुरुप नभएको बताए। ‘पहिलो ४५ मिनेटमा सोचेजस्तो खेल्न सकिएन। ब्याटिङ यूनिटमा सुरुवातमा राम्रो गर्नु पर्ने थियो। त्यसले असर गर्यो। शीर्ष ४–५ खेलाडी नचलेसँगै समस्या भयो, ’ रोहितले भने।
अब लिग–२ मा नेपालले आफ्नो दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
Facebook Comment
Comment