काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलियाले यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाले १४ वर्षपछि यू-१९ विश्वकपको उपाधि जितेको हो ।
आइतबार फाइनलमा भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले चौथोपटक उपाधि उचालेको हो । यसअघि सन् १९८८, २००२, २०१० मा अष्ट्रेलियाले उपाधि जितेको थियो ।
यसअघि सन् २०१२ र २०१८ मा अष्ट्रेलियालाई हराउँदै दुवै पटक भारतले उपाधि उचालेको थियो । पाँच पटक उपाधि जितेको भारत यसपटक फाइनलमा पराजित भयो ।
भारत २५४ रनको लक्ष्य पछ्याउनेक्रममा ४३.५ ओभरमा १७४ रनमै अल आउट भयो । ओपनर आदर्श सिंहले ४७ रन जोडे ।
अष्ट्रेलियाका माहली बियर्डम्यान र राफ म्याकमिलनले ३-३ तथा कलुम विड्रलले २, चार्ल्स एन्डरसन र टम स्ट्रेकरले १-१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन जोडेको थियो ।
अष्ट्रेलियाका लागि हर्जस सिंहले सर्वाधिक ५५, कप्तान ह्युग विबगेनले ४८ र ओलिभर पिकले अविजित ४६ रन बनाए ।
Facebook Comment
Comment