काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा २८५ रन बनाएको भएको हो।
क्यानडाका लागि आरोन जोनसनले ६५ र नवनीत धालिवालले ४६ रन बनाए। नेपालका कुशल मल्ल र कप्तान रोहित कुमार पौडेलले २–२ तथा सूर्य तामाङ, सोमपाल कामी, आकाश चन्द र पवन सराफले १–१ विकेट लिए।
आकाशले आफ्नो डेब्यू खेलमा नै नेपालको लागि पहिलो विकेट लिए। उनले पहिलो विकेटको लागि आरोन जोनसन र नवनीत धालिवालबीचको ९४ रनको साझेदारी तोडे।
यस्तै, रोहितले दोस्रो खेलमा पनि राम्रो बलिङलाई निरन्तरता दिए। ३१ औँ ओभरमा रोहितले २ विकेट लिए। उनले ३१ ओभरको दोस्रो र पाँचौँ बलमा पर्गत सिंह र निकोलस किर्तोनलाई पभिलियन फर्काए। बिहीबार भएको पहिलो खेलमा उनले ४ विकेट लिएका थिए।
Facebook Comment
Comment