पाकिस्तानी राजनीति : नयाँ चुनाव-पुरानै तनाव, कसरी बन्ला नयाँ सरकार ?

भ्रष्टाचारजस्तो कठोर आरोपका बाबजुद इमरान खानलाई निर्वाचनले एक बलियो र लोकप्रिय नेताका रुपमा स्थापित गर्दिएको छ । तर, नयाँ चुनावपछि पनि पाकिस्तानी राजनीतिको दुर्भाग्य भने अन्त्य भएको छैन ।

पाकिस्तानी राजनीति : नयाँ चुनाव-पुरानै तनाव, कसरी बन्ला नयाँ सरकार ?

काठमाडौं । सदाबहार राजनीतिक संकट सामना गर्ने देश हो–पाकिस्तान । सन् १९४७ मा पाकिस्तान बने यता यो देशको राजनीति विरलै सहज बाटोमा हिँडेको छ । कहिले सैनिक तानाशाही त कहिले अस्वस्थ्य राजनीतिक प्रतिस्पर्धामा बारम्बार फस्ने गरेको छ ।

भारत र पाकिस्तान ब्रिटिश शासनबाट मुक्त हुँदै सँगसँगै स्वतन्त्र भएका हुन् । तर, भारत तुलनात्मकरूपमा बढी स्थीर र लोकतान्त्रिक मुलुक बन्यो भने पाकिस्तान सधैँ अनिश्चितता र संकटबीचबाट गुज्रियो ।

यहाँसम्मकी पाकिस्तानमा आम चुनावबाट निर्वाचित भएर आएका सरकार र प्रधानमन्त्रीले समेत सहज कार्यकाल बिताउन पाएनन् ।

भारतीय स्वतन्त्रता संग्रामको चरमोत्कर्षमा अखिल भारतीय मुस्लिम लिगका नेता मोहम्मद अली जिन्हाले एक भिन्नै मुस्लिम बहुल देशको माग अघि सारेपछि भारत विभाजन भई पाकिस्तान बनेको थियो । तर, पूर्वी पाकिस्तान (हालको बंगलादेश) ३ दशकभन्दा बढी पाकिस्तानमा रहन सकेन, भिन्नै देश भयो ।

भनिन्छ– भारत-पाक विभाजनमा नेहरु–जिन्हा प्रतिस्पर्धी मनोविज्ञानले काम गरेको थियो । ब्रिटिश शासनबाट भारत स्वतन्त्र हुने निश्चित भएपछि महात्मा गान्धीले भावी प्रधानमन्त्रीका लागि जवाहरलाल नेहरुलाई छनोट गरे । जिन्हा कुण्ठित र क्रोधित भए । त्यसलाई उनले धार्मिक तथा समुदायगत पूर्वाग्रहका रुपमा हेरे । जिन्हाको भिन्नै देश पाकिस्तान बनाउने अठोट झनै बलियो भयो।

यद्यपि मुस्लिम लिगले सन् १९४० देखि नै हिन्दू-मुस्लिमबीच समान शक्ति साझेदारी र उत्तरपश्चिम भारतमा एक भिन्नै मुस्लिम बहुल देशको माग अघि सारेको थिए ।

भारतबाट विभाजित भएर भिन्नै देश पाकिस्तान बने पनि जिन्हा लामो समय त्यसका शासक बन्न पाएनन् । करिब १३ महिना मात्र उनी पाकिस्तानको शासक भए ।

पाकिस्तानको पहिलो प्रधानमन्त्री लिकायत अली खानको सन् १९५१ मा हत्या भएको थियो । त्यहाँ सन् १९५६ मा मात्र संसदीय लोकतन्त्र आधारित संविधान बन्न सक्यो । तर, सन् १९५८ मा जर्नेल अयुब खानले सैनिक ‘कु’ गरे । पाकिस्तान प्रारम्भदेखि नै लोकतान्त्रिक बाटोमा सहजतापूर्वक हिँड्न पाएन ।

अयुब खानको सैनिक शासन सन् १९६९ सम्म रह्यो । थप ३ वर्ष जर्नेल याहया खानको शासन चल्यो । सन् १९७१ देखि १९७७ बीचको जुल्फिकार अली भुट्टोको शासनकाल तुलनात्मकरूपमा लोकतान्त्रिक थियो तर सन् १९७७ मा जर्नेल जियाउल हकले पुन सैनिक ‘कु’ गरे ।

सन् १९७९ मा भुट्टोलाई फासीमा चडाएर मृत्यु दण्ड दिइयो । जियाउल हक आफैँ सन् १९८८ मा एक शंकास्पद हवाई जहाज दुर्घटनामा मारिए । मारिनु, विदेशिनु वा अपमानपूर्ण जिन्दगी बिताउनु पकिस्तानी शासकको नियतिजस्तो देखिन्छ । प्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या भएको थियो भने त्यसपछिका सैनिक शासक परवेज मुसरफले अपमानपूर्ण जेल जीवन र निर्वासन खेप्न परेको थियो ।

तीनपटकका प्रधानमन्त्री नवाज सरिफ लामो निर्वासनपछि देश फर्किएका हुन् भने पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन् । पाकिस्तानमा शासक वा मुख्य नेता हुनु सर्वथा जोखिमपूर्ण कार्य मानिन्छ ।

बिहीबार भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) लाई दलको मान्यता र चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ प्रयोग गर्न दिइएको थिएन । त्यसो हुँदा बिलावल भुट्टो नेतृत्वको पाकिस्तानी पिपुल्स पार्टी र पूर्वप्रधानमन्त्री नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिगबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान थियो । अझ मुस्लिम लिगले बहुमत हासिल गर्ने धेरैको आकलन थियो ।

तर, निर्वाचन परिणाम भने त्यस्तो देखिएन । पार्टी नाम र चुनाव चिन्ह प्रयोग गर्न नपाएपछि पिटिआई समर्थकले स्वतन्त्र उम्मेदवारी दिए । पिटिआई समर्थक स्वतन्त्र उम्मेदवारले पहिलो स्थान हासिल गरे भने पाकिस्तान मुस्लिम लिग दोस्रो र पाकिस्तान पिपुल्स पार्टी तेस्रो स्थानमा सीमित भयो ।

तर, पाकिस्तानको इतिहासमा यस्तो भएको यो पहिलोपटक भने हैन । सन् १९८५ मा जर्नेल जियाउल हकले गराएको संसदीय चुनावमा पार्टी प्रतिबन्धित थिए । शतप्रतिशत स्वतन्त्र उम्मेदवारले चुनाव जितेका थिए । यो चुनावपछि संसदभित्र ‘फ्लोर सपोर्ट’ को क्रममा पार्टीको जन्म भएको थियो । पाकिस्तान मुस्लिम लिगको जन्म त्यही क्रममा भएको थियो ।

स्वतन्त्र उम्मेदवारका रूपमा जितेपनि पिटिआई समर्थित सांसदले संसदभित्र एक अनौपचारिक समूहका रूपमा काम गर्न सक्नेछन् । तर, यसको कानूनी जटिलताको पाटो भने अर्कै छ । पाकिस्तानको संसद ‘नेसनल एसेम्बली’ ३३६ सिटको हुन्छ । यसमध्ये २६६ सिटको मात्र प्रत्यक्ष निर्वाचन हुन्छ । बाँकी ६० सिट महिला र १० सिट गैरमुस्लिम अल्पसंख्यक समुदायका लागि आरक्षित छ ।

यो संख्या पार्टीहरूले प्राप्त गर्ने मतका आधारमा समानुपातिक वितरण गर्ने हुँदा यसको लाभ पाकिस्तान मुस्लिम लिग, पाकिस्तान पिपुल्स पार्टी र अन्य साना दललाई हुनेछ ।

सरकार गठन गर्न कम्तीमा १६८ सिट चाहिन्छ । स्वतन्त्र उम्मेदवारहरूले प्रत्यक्ष निर्वाचन तर्फबाट बहुमत हासिल गर्न सम्भव देखिएको छैन । तसर्थ स्वतन्त्र सांसदबाहेकका दल मिलेर सरकार गठन गर्ने बाटो सबैभन्दा सहज देखिन्छ । त्यसो भएमा पिटिआई समर्थित स्वतन्त्र सांसदले प्रतिपक्षको भूमिका गर्न सक्दछन् ।

मुस्लिम लिगका नेता नवाज सरिफले त्यसको संकेत गरिसकेका छन् । उनले दलहरू मिलेर गठबन्धन सरकार गठन गर्न आव्हान गरेका छन् । दोस्रो स्थानमा सीमित हुनुका बाबजुत उनले आफ्नो दललाई पहिलो ठूलो दलका रूपमा विजयी भएको दाबी गरेका छन् ।

पिटिआई समर्थित स्वतन्त्र सांसदलाई भिन्नाभिन्नै मान्दा उनको दाबी ठीकै हो तर, यो प्राविधिक कुरा मात्रै हो, दुनियाँलाई थाहा छ कि ती स्वतन्त्र सांसद पिटिआई र इमरान खान समर्थक हुन् । तिनले एक समूहको रूपमा संसदमा कुनै काम गर्नेछन् वा कुनै राजनीतिक निर्णय लिनेछन् ।

पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टो जर्दारी जियाउल हकले फासी दिएका पूर्वप्रधानमन्त्री जुल्फीकार अली भुट्टोका नाति तथा सन् २००७ मा हत्या गरिएकी प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । कमजोर भइसकेको भनिएको यो पार्टीले सम्मानजनक तेस्रो स्थान हासिल गरेको छ ।

यो चुनावको सबैभन्दा रोचक पक्ष पूर्वप्रधानमन्त्री तथा पिटिआई नेता इमरान खानको राजनीतिक भविष्य थियो । भ्रष्टाचारको मुद्दामा उनी जेलमा छन् । उनको पार्टीलाई चुनाव लड्न प्रतिबन्ध गरिएको थियो । यी घटनापछि इमरान र पिटिआईको राजनीति उल्लेखनीयरूपमा कमजोर हुने पूर्वानुमान गरिएका थिए । मुस्लिम लिगले एकल बहुमत हासिल गर्ने र नवाज सरिफ चौथोपटक प्रधानमन्त्री हुने अपेक्षा थियो ।

भ्रष्टाचारजस्तो कठोर आरोपका बाबजुद इमरान खानलाई निर्वाचनले एक बलियो र लोकप्रिय नेताका रूपमा स्थापित गर्दिएको छ । तर, नयाँ चुनावपछि पनि पाकिस्तानी राजनीतिको दुर्भाग्य भने अन्त्य भएको छैन । तिक्ततापूर्ण शक्ति संघर्षको निरन्तरता कायमै भएको हुँदा कति खेर के हुने हो, कसैले भन्न सक्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved