काठमाडौं । प्रगतिशील नेपाली समाज समिति (भारत)ले भारतमा बसोबास गरिरहेका नेपालीलाई निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरू उपलब्ध हुनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएको छ ।
प्रगतिशील नेपाली समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, अलइन्डिया तिनितेक्वान्दो हेड कोच प्रकाश जैगडी पत्रकार प्रभाकार ढगेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारतमा रहेका नेपालीका विभिन्न समस्याबारे १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
भारतमा रहेका नेपालीहरूलाई निःशुल्क शिक्षा, स्वास्थ्यलगायत निःशुल्क आवास, रोजगार, उद्योग बन्द व्यापार, आधार कार्ड व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।
त्यसैगरी भारतको राज्य गोवा र काठमाडौंबीच हवाई सेवा र पर्यटन व्यवसाय गर्न सम्झौता हुनुपर्ने उनीहरूको सुझाव छ ।
त्यसैगरी भारतमा बस्ने नेपालीलाई पर्यटन प्रवर्द्धन दूतको रूपमा नेपाल सरकारले नियुक्ति दिनुपर्ने उनीहरूको माग छ ।
नेपाली ड्राइभर लाइसेन्स भारतमा पनि मान्यता पाउनुपर्ने पहल गर्न पनि भनिएको छ ।
नेपाली नम्बर प्लेट भएको गाडी सजिलैसँग आवत–जावत गर्न पाउने व्यवस्था मिलाउन र भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई अध्ययनपछि रोजगारीको ग्यारेन्टी गर्न समेत ज्ञापन पत्रमार्फत भनिएको छ ।
यसका साथै भारतमा बस्ने नेपाली छात्र छात्रीका लागि छुट्टै नेपाली विषय पढाइ हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने भनिएको छ ।
Facebook Comment
Comment