संसद् अवरोधको ‘मूड्’मा एमाले ?

नेपालभ्युज

संसद् अवरोधको ‘मूड्’मा एमाले ?

काठमाडौं । संसद्‌को हिउँदे अधिवेशन सुरू भएको हुँदैछ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने सशक्तरूपमा प्रस्तुत हुने तयारी गरेको छ ।

सुशासन, आर्थिक विकास तथा सामाजिक न्यायलगायतका विषयमा वर्तमान सरकारले काम नगरेको निष्कर्ष निकाल्दै एमालेले यो अधिवेशनमा सशक्तरूपमा प्रस्तुत हुने निर्णय गरेको हो ।

“वर्तमान सरकारले आफू टिकिरहनेबाहेक अरु काम गरेन,” एमाले सचेतक महेशकुमार बर्तौलाले भने, “संसदीय प्रक्रियाअनुसार सशक्तरूपमा अगाडि बढ्छौँ । त्यसरी अघि बढ्दा अवरोधसम्मै पुग्न पनि सकिन्छ । हामीले त्यसलाई विरोध भन्छौँ । अवरोध त सत्तापक्षले गर्ने हो ।”

एमाले सांसद रघुजी पन्त पनि सरकारको कदममाथि प्रश्न उठाउँछन् । सोमबार सुरु हुने अधिवेशनमा सरकारलाई सचेत गराउँदै एमाले अघि बढ्ने उनको भनाइ छ ।

“सरकार छ भन्नुमात्रै जस्तो देखिन्छ अहिलेको अवस्था  । जनजीविकाका सन्दर्भमा सरकार बेखबरजस्तो देखिन्छ । सरकारलाई झक्झक्याउँछौँ । अटेर गरे त्यसको विकल्प खोज्नेतिर पनि जानुपर्ने हुन सक्छ,” उनले भने ।

त्यसो त यसअघि बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूले सरकारले जनपक्षीय काम नगरेको विषयलाई लिएर कडारूपमा प्रस्तुत हुनुपर्ने र अवरोध गर्नसमेत पछि पर्न नहुने धारणा राखेका थिए । त्यसकै आधारमा एमालेले अवरोधसम्मको तयारी गरेको एक सांसद बताउँछन् ।

यो अधिवेशनमा सरकारलाई सच्चिन समय दिन्छौँ, नसच्चिए ‘छोड’ भन्छौँ : सचेतक बर्तौला 

“संसद् अवरोध गर्ने हाम्रो ध्येय होइन । तर, सरकारको अटेरीपनलाई लिएर अवरोध पनि हुनसक्छ । अहिलेको सरकारले सुशासन, सामाजिक न्याय, विकासलगायतका अति महत्त्वपूर्ण विषयहरूलाई नारामा मात्रै सीमित राखेको छ,” ती सांसदले भने ।

पहिलो दिन नै अवरोध गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनी भन्छन्, “अवरोधको पूर्वनिर्धारित समय हुँदैन । त्यहाँको परिस्थिति हेरेर गर्ने हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved