क्वालालम्पुर । मलेसियाले भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पूर्वप्रधानमन्त्री नजिब रजाकको कारागार सजाय आधाले घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शुक्रबार बताएको छ ।
अर्बौं डलरको एमडिबी वित्तीय घोटालामा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित अपराधमा नजिबलाई सन् २०२२ मा १२ वर्षको कारागार सजाय सुनाइएको थियो । “राय र सल्लाहमाथि विचार गरेपछि क्षमा बोर्डले नजिब रजाकको सजाय र जरिवानामा ५० प्रतिशतले कटौती गर्ने फैसला गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।
एक उत्तराधिकारीलाई सिंहासन हस्तान्तरण गर्नु दुई दिनअघि पूर्वराजा सुल्तान अब्दुल्लाको अध्यक्षतामा रहेको क्षमा बोर्डको सोमबारको बैठकले उक्त निर्णय गरेको हो । बोर्डमा अन्य अधिकारीका साथै महान्यायाधिवक्ता पनि रहेका थिए।
लामो सुनुवाइपछि नजिबलाई सन् २०२० मा पूर्व एमडिबी एकाइ एसआरसी इन्टरनेसनलबाट आफ्नो निजी बैंक खातामा चार करोड २० लाख रिङ्गिट (८९ लाख अमेरिकी डलर) को हस्तान्तरणमा सत्ताको दुरुपयोग, मनी लन्ड्रिङ र आपराधिक उल्लङ्घन गरेको दोषी पाइएको थियो ।
कारागार सजाय उल्ट्याउने उनको प्रयासलाई मुलुकको सर्वोच्च अदालतले खारेज गरेको थियो । सन् २००९ देखि सन् २०१८ सम्म प्रधानमन्त्री रहेका ७० वर्षीय नजिबले निष्पक्ष सुनुवाइ नभएको दाबी गरेका थिए । उनले एक न्यायाधीशको स्वार्थको द्वन्द्व भएको र आफ्नो कानूनी टोलीलाई मुद्दाका कागजातहरू अध्ययन गर्न पर्याप्त समय नदिइएको आरोप लगाएका थिए ।
मलेसियाका राजनीतिक संरक्षक महाथिर मोहम्मदको विपक्षी गठबन्धनले सन् २०१८ को निर्वाचनमा घोटालाका आक्रोशका बिच उनलाई सत्ताबाट बाहिर पुर्याएका थिए । एएफपी
Facebook Comment
Comment